काठमाडौं, फागुन २५ गते । राष्ट्रियसभा सदस्य गोमादेवी तिमिल्सिनाले समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भए पनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको बताउनुभएको छ ।
आइतबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छोडेको आरोप लगाउनुभयो । उहाँले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको बताउनुभयो ।
सदस्य भन्नुभयो, ‘‘समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै जान्छ । तर हाम्रो देशमा दातृ मुलुकहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुँदै गइरहेका छन् । लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे भएको छ । कामदार र कर्मचारी महिनौंदेखि भोकभोकै मरिरहेका छन् । अध्यक्षमार्फत तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथि खेलवाड गर्न रोकियोस् भनेर आदेश दिनका लागि आग्रह गर्न चाहन्छु ।’’
उहाँले तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।