• १९ चैत २०८१, मङ्गलबार

महिला चालक सम्मानित

blog

पाँचथरका सम्मानित भएका चार जना अटो चालक दिदीबहिनी । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, फागुन २५ गते ।
पाँचथर जिल्लाका विभिन्न स्थानमा तीन पाङ्ग्रे साधन (अटो) चलाएर नागरिकको आवागमनमा सहजीकरण गर्दै आएका चार जना महिलालाई सम्मान गरिएको छ ।

उहाँहरुलाई फिदिममा आयोजित कार्यक्रममा सामूहिक सम्मान गरिएको हो ।

अन्तरपार्टी महिला सञ्जाल पाँचथरले एक सय १५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा करुवा र कदर पत्रमार्फत उनीहरु सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा फालेलुङकी गीता केरुङ र हिलिहाङकी सुस्मिता शेर्पासँगै फिदिमका सोनु तुम्बापो र प्रेमकुमारी आले हुनुहुन्छ ।

सम्मान हुनेमा गीता केरुङ जिल्लाकै पहिलो अटो चालक महिलाका रुपमा पहिचान बनाउन सफल हुनुहुन्छ ।

अटो चालक दिदीबहिनीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावती, पूर्व सांसद सीता थेवे, अन्तरपार्टी महिला सञ्जाल पाँचथरका अध्यक्ष मीना रिजाल केरुङ, उपाध्यक्ष गीता घिमिरे, सचिव सानुमाया थापामगर र महिला नेत्री मधु जबेगुलगायतले सामूहिक रुपमा सम्मान गर्नुभएको थियो ।

महिलाको श्रम र मेहनतको प्रशंसासहित उहाँलाई सम्मान गरिएको अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष केरुङले जानकारी दिनुभयो ।