• ८ वैशाख २०८२, सोमबार

एमालेलाई जनतासम्म पुर्‍याउन ‘जरा अभियान’

blog

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा एमालेले गरेको वडा केन्द्रित जरा अभियान । तस्बिरः रजनी योगी

रजनी योगी 

सुर्खेत, फागुन २५ गते । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन –८४’ गरिरहेको नेकपा (एमाले) यतिबेला वडा केन्द्रित अभियानमा जुटेको छ । सो अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ । 

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा एमालेले वडा केन्द्रित अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाका १३ वटै वडामा अभियान गरिएको एमाले भेरीगंगा नगरकमिटिका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो । 

उहाँका अनुसार नगर कमिटी, वडा कमिटीका बैठक सम्पन्न गरेर टोल कमिटी गठन गरिएको छ । हालसम्म नगरपालिकामा ५० वटा टोल कमिटी गठन गरिएको थापाले जानकारी दिनुभयो । नागरिकका समस्या बुझ्ने र एमालेले थालेका राम्रा कामबारे जानकारी दिनेगरी नागरिक भेटघाट भइरहेको उहाँको भनाइ छ ।

नागरिकहरुले पार्टीप्रति ठूलो अपेक्षा राखेको र विभिन्न माग समेत राख्ने गरेको थापाले बताउनुभयो । प्रत्यक्ष रुपमा नागरिक भेटघाट गर्दा बस्तीस्तरका समस्या पहिचान भइरहेका छन् । पूर्वाधार विकास नागरिकको पहिलो माग रहेको छ भने आधारभूत आवश्यकताबाट नागरिक बञ्चित भइरहेको पाइएको जनाइएको छ ।

एमाले घर–घरमा पुग्दा नागरिकमा उत्साह थपिएको, पार्टीप्रति विश्वास बढेको र धेरै अपेक्षा राखेको पाइएको थापाले जानकारी दिनुभयो । जनप्रतिनिधिको कामप्रति भने नागरिक रुष्ट रहेको पाइएको जनाइएको छ । 

नेकपा (एमाले) कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले आफ्नो पार्टीले गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘जरा अभियान’ सञ्चालन गरिएको बताउनुभयो । ‘समृद्ध कर्णाली, सुखी कर्णाली बासी’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ । 

उहाँले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ ‘जरा अभियान’ कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । ‘जनसंगठन मार्फत विभिन्न पेसा र व्यावसायमा रहेका गैर एमाले पंक्तिलाई एमालेको नजिक ल्याउने काम यो अभियानमा हुन्छ’ अध्यक्ष शाहले भन्नुभयो, ‘सँगसँगै आफ्नो क्षेत्र–वर्गको नेता संगठनको रुपमा स्थापित हुनेगरी अभियानकै क्रममा काम हुनेछ ।’ 

जरा अभियानमा भइरहेको तेस्रो काम जनप्रतिनिधिसँग जोडिन्छ । एमालेले नेतृत्व गरिरहेको संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामहरूको प्रचार अभियानका क्रममा भइरहेको छ । अभियानका क्रममा हुने महत्वपूर्ण काम भने जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु रहेको शाह बताउँनुहुन्छ । यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेगरी अघि बढ्ने उहाँको भनाइ छ । 

२०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–२०८४ अभियान थालेको छ । सुरुमा एमालेले तीन महिने मिसन ग्रासरुट अभियान चलाएको थियो । सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो । 

उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन ग¥यो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो । यही अवधिमा प्रदेश, जिल्ला र जनसंगठनको अधिवेशन गरी नेतृत्व परिवर्तन गरेको थियो ।