राजकुमार भट्टराई
खोटाङ, फागुन २५ गते । त्रि–धार्मिक स्थलमा अवस्थित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । ऐतिहासिक धार्मिक, एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरू समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थमन्त्री प्रकाशशरण महतको हातबाट लोगाे सार्वजनिक गरिएको हो । पूर्व अर्थमन्त्री महतसँगै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई लगायतले लोगो सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले लोगो निर्माणका लागि सार्वजनिक सूचना निकालिएको थियो । उक्त सूचनाका आधारमा ७ वटा लोगो आएको नगरपालिकाले जनाएको छ । जसमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोष दाहालले बनाएको लोगो छनोट भएको हो । नगरपालिकाको १५ औं नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेको प्रमुख राईले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र त्रि–धार्मिक स्थल हलेसीलगायत ऐतिहासिक धार्मिक एवम् पुरातात्विक महत्त्व बोकेका क्षेत्रहरू समेटेर लोगो निर्माण भएको प्रमुख राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटिएको राईको भनाइ छ ।