जनार्जन खत्री
सर्लाही, फागुन २४ गते । सर्लाहीका दुई वटा चिनी उद्योगले यस वर्षको क्रसिङ्ग बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ ।
जिल्लाको दक्षिणी क्षेत्रस्थित महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले चालु सिजनका लागि उखु क्रसिङ्ग बन्द गरेका हुन् । शनिबार बिहानबाट बन्द भएको अन्नपूर्ण चिनी उद्योगले नौ लाख २१ हजार क्विन्टल उखु क्रसिङ्ग गरेको उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिनुुभयो ।
महालक्ष्मी चिनी उद्योग बगहद फागुन २१ गतेबाटै बन्द भएको उद्योगका प्रशासकीय प्रवन्धक शिवशङ्कर कुशवाहाले जानकारी दिनुुभयो । कुशवाहाका अनुसार महालक्ष्मीले यो वर्ष १३ लाख ८० हजार १०४ क्विन्टल उखु क्रसिङ्ग गरेको छ ।
अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योगले किसानको बाँकी भुक्तानी फागू पूर्णिमा सकिएको दुईदेखि तीन हप्ताभित्र भुक्तानी दिइसक्ने बताएका छन् । दुवै उद्योगले माघ महिनासम्मको भुक्तानी दिइसकेको दाबी गरेका छन् ।
हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले भने फागुन २७ गतेसम्म उखु क्रसिङ्ग गरेर मिल बन्द गर्ने जनाएको छ । उद्योगका उखु प्रबन्धक योगनारायण रजकले उद्योगमा जतिसक्दो चाँडो उखु ढुवानी गरिसक्न किसानलाई अन्तिम पटकको सूचना जारी गरिसकिएको र २७ गतेबाट उद्योग बन्द हुने बताउनुभयो ।
किसानले उखु ल्याउन छाडेपछि इन्दुशङ्कर चिनी उद्योग विगत एक सातादेखि ‘नो क्यान’ मा सञ्चालन भइरहेको उखु प्रवन्धक रजकले बताउनुुभयो । उहाँका अनुसार उद्योगले २९ लाख ३१ हजार क्विन्टल उखु क्रसिङ्ग गरिसकेको छ ।
फागुन २७ गते उद्योग बन्द गर्ने बेलासम्म उखु क्रसिङ्ग ३० लाख क्विन्टलसम्म पुग्ने इन्दुशङ्कर चिनी उद्योगले जनाएको छ । यो वर्ष उखु उत्पादन घटेकाले हरेक चिनी उद्योगले किसानलाई एक हप्तादेखि १० दिनभित्रैमा भुक्तानी गरेका छन् ।
उद्योगबाट भुक्तानी लिन यो वर्ष खासै समस्या नरहे पनि सरकारले प्रदान गर्ने प्रतिक्विन्टल ७० रुपियाँ भने अनिश्चित नै रहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गर्नुभयो ।