लीलाराज खड्का
बिर्तामोड, फागुन २२ गते । क्रान्तिवीरको निसानी झापाको सुखानी, कम्युनिस्ट राजनीतिको केन्द्र वरिपरि फन्को लगाइरहन्छ । २०२९ फागुन २१ गते तत्कालीन पञ्चायती सत्ताले आस्थाका बन्दीलाई झापाको चन्द्रगढी कारागारबाट इलामस्थित कारागारमा लैजाने बहानामा झापाको खुदुनाबारी र इलामको दानाबारीमा पर्ने सुखानीको जङ्गलमा पाँच जना कम्युनिस्ट क्रान्तिकारी योद्धाको हत्या
गरेको थियो ।
कम्युनिस्ट पार्टीहरूले आफ्ना क्रान्तिवीरले बलिदान गरेको सम्झना गर्दै बुधबार ५३ औँ सुखानी सहिद स्मृति दिवस तिनै सहिदको सम्झना गर्दै मनाएका छन् । सुखानीको जङ्गलमा कम्युनिस्ट पार्टीका योद्धा वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालको हत्या भयो । सोही समयमा झापाको गरामनीस्थित नडियाबारीमा चन्द्र डाँगी, हरि नेपाललगायतको हत्या भयो । जेलमा चरम यातनाका कारण मङ्गल मर्डी र भोगेन राजवंशीले देहत्याग गर्नुभयो ।
नेपाली जनताको मुक्तिका खातिर रगत बगाएका ती युवा रूपान्तरण र समृद्धिको आन्दोलनमा जीवित रहेको स्मरण गर्दै यो दिवस मनाइएको दलका नेताले बताएका छन् । वर्ग सङ्घर्षमा होमिएका पाँच जना योद्धालाई स्मरण गर्दै झापामा सक्रिय सबै कम्युनिस्ट पार्टीले सुखानी सहिद स्मृति दिवस मनाउने गरेका छन् ।
इलामको माई नगरपालिकामा रहेको सुखानी सहिदपार्कमा जाने, सहिदप्रति श्रद्धासुमन अर्पण गर्ने र असल काम गर्ने प्रतिज्ञा गर्दै नेता कार्यकर्ता फर्किने गरेका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुखानीमा छुट्टाछुट्टै कार्यक्रम गरी सहिदलाई सम्झिए । एमाले र माओवादीको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटै मञ्चबाट सुखानीका सहिदलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिदको सपना साकार पार्ने उद्घोष गर्नुभएको थियो ।
सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच जना योद्धालाई २०७२ फागुन १९ गते राष्ट्रिय सहिद घोषणा गरेको हो । सहिद नेत्र घिमिरेकी छोरी कल्पना घिमिरेले सहिद परिवारलाई कुनै किसिमको प्राप्तिको स्वार्थ नरहेको बताउँदै अब नागरिकको जीवनमा आमूल रूपान्तरण भएको हेर्ने चाहना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा सबैखाले समस्या भोगियो, अब जनताको सुख र देशको समुन्नति नै सहिद परिवारको एक मात्र स्वार्थ हुने छ ।”
उहाँले सहिदले देखाएको बाटो नभुल्न सबैलाई आग्रह गर्दै जनताको चाहनालाई प्राथमिकतामा राखेर सत्ता सञ्चालन गर्दा सुखानी सहिदको सपना साकार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सानै हुँदा बुवाले देशका लागि जीवन आहुति दिनुभयो, हाम्रो चाहना यत्ति हो कि, अबका दिनमा कसैका छोराछोरी राजनीतिक लडाइँका कारण टुहुरा बन्नु नपरोस् ।”
‘सहिदको सपना पूरा हुन्छ’
नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले सुखानी सहादतस्थलमा उभिएर एमाले पार्टीले सहिदको सपना पूरा गरिछाड्ने बताउनुभयो । उहाँले सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदको सपना पूरा हुने बताउनुभयो । उहाँले समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा जोडिन आग्रह गर्दै नेपाली जनताको मुक्तिका लागि जीवन बलिदान दिने सहिदको सपना साकार पार्न सबै लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेकपा (माओवादी केन्द्र) झापाका इन्चार्ज रन्जित तामाङले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भइसकेको र नागरिकको अधिकार स्थापना गरेको हुनाले सुखानीका सहिदले देखेको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेल्सन मन्डेलाले योद्धाले मृत्युसँग डराउनु हुँदैन, डराउने मान्छेले परिवर्तनको नेतृत्व गर्न सक्दैन भने झैँ सुखानी सहिदको गाथा केवल छोटो व्याख्याले पूरा हुँदैन । त्यसैले पाँच जाना सहिदको बलिदान र त्यागलाई स्मरण गर्दै नवीन र समुन्नत राष्ट्र निर्माणको सङ्कल्प पूरा गर्नु पर्छ ।” यसैबिच झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदको सालिक निर्माण गरिएको छ । नेता तामाङले कम्युनिस्ट क्रान्तिको नवीन अध्याय आरम्भ गर्ने झापा विद्रोह नेपालका कम्युनिस्ट पार्टीका लागि प्रेरणापथ भएको बताउनुभयो ।