• २२ फागुन २०८१, बिहिबार

बुढेसकालको नागरिकताले दिलायो खुसी

blog

चन्द्रकला भण्डारी

झापा, फागुन २१  गते ।  पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उहाँले जीवनकै सबैभन्दा ठुलो धोको पूरा भएको बताउनुभयो । “नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन”, हालै पाएको नागरिकता देखाउँदै उहाँले भन्नुभयो, “बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।”

नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आउनुभएकी उहाँका तीन छोराको पेट पालनका लागि रोजगारी गर्न भारतको बैंगलुरू गएका छन् ।

नीरकुमारीका पति सन्तमानको नागरिकता थियो । छोराहरूको पनि नागरिकता छ । तर, पतिकै बेवास्ताका कारण आफूले यतिका वर्षसम्म नागरिकता नपाएको उहाँको गुनासो छ । घर नजिकैको भृकुटी र बाहुनडाँगी बजारमा नागरिकता बनाउने टोली पटकपटक आउँदा समेत उहाँको नागरिकता बनाउने पहलै भएन ।

नागरिकता बनेपछि हर्षित नीरकुमारीले पहिलोपटक सामाजिक सुरक्षा भत्ता पाउनुभएको छ । जग्गाको स्वामित्व पतिबाट आफ्नो नाममा सार्ने उहाँको इच्छा छ । तीन छोरामध्ये जेठो राजकुमार घर छुट्टिएर बस्दै आएको उहाँले बताउनुभयो । माइलो विजय राई र कान्छो पविराम राई रोजगारीका लागि बैंगलुरू गएका छन् । जेठी बुहारीको मृत्यु भइसकेको, माइली बुहारीले घर छाडेर हिँडेको र कान्छो छोरा अविवाहित भएको जनाउँदै उहाँले नातिनातिना पढाएर माइलो छोराको घरमा बस्दै आएको बताउनुभयो ।

वडा कार्यालयले अपाङ्गता भएर बोल्न नसक्ने, सुन्न नसक्ने, आँखा नदेख्ने र एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरूको नागरिकता बनाइदिने अभियान चलाएको छ । सोही क्रममा नीरकुमारी राईको आफूले सनाखत गरेर नागरिकता दिलाएको वडाध्यक्ष दीपक बरालले बताउनुभयो । “जसको कोही छैनन्, उसका लागि वडा कार्यालय छ”, वडाध्यक्ष बराल नागरिकता अभियानबारे भन्नुहुन्छ, “सनाखत गर्ने मान्छे ल्याउनुप यो भनेर सिडिओहरू नागरिकता दिन आनाकानी गर्नुहुन्छ । गलत व्यक्तिलाई सिफारिस गरेको रहेछु भने मलाई लगेर थुनिदिए हुन्छ भन्दै मैले नै उहाँहरूको सनाखत गरिदिने गरेको छु ।”

सनाखत गरिदिने नातेदारको निधन भइसकेको र सम्पर्कमा नरहेको अवस्थामा कोही पनि वडावासी ज्येष्ठ नागरिकहरुले आफ्नै थाकथलोमा अनागरिकको पीडा भोग्नु नपरोस् भनेर वडाले सिफारिस र वडाध्यक्षको तर्फबाट सनाखत गरिदिएको बराल बताउनुहुन्छ । सुस्तश्रवण, दृष्टिविहीन र आफन्त गुमाइसकेका दसजना ज्येष्ठ नागरिकको चालु आर्थिक वर्षमै सिफारिस दिएर नागरिकता दिलाइसकेको उहाँले जानकारी दिनुभयो । त्यस्ता व्यक्तिहरूको नागरिकता बनाउने क्रममा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउने खर्च समेत वडाले बेहोर्ने गरेको छ ।

आर्थिकरूपमा विपन्न परिवारकै ज्येष्ठ बुवाआमाहरू नागरिकता बनाउनबाट वञ्चित रहेको आफूले पाएको उहाँले बताउनुभयो । त्यहीकारण उनीहरूको नागरिकता बनाउँदा लाग्ने खर्च वडा कार्यालयको तर्फबाटै बेहोरिएको उहाँको भनाइ छ ।

आफन्त गुमाइसकेका सोही वडाका केशरबहादुर राईले ८६ वर्षको उमेरमा हालै नागरिकता पाउनुभयो । वडाध्यक्ष बराल आफैँले सिफारिस र सनाखत गरेर उहाँको पनि नागरिकता बनेको हो । विसं २०१८ मा पहाडबाट तराई झरेका केशरबहादुर मेचीनगरको बाहुनडाँगी आउँदा २२ वर्षको लक्का जवान हुनुहुन्थ्यो । उमेर पुगे पनि उसबेला नागरिकता बनाउने चलन थिएन । बिहे गरेर पत्नीसहित उहाँ रोजगारीको खोजीमा बाहुनडाँगीबाट भौतारिँदै भारतको आसाम पुग्नुभयो । विसं २०२४ मा आसामबाट थाकथलो बाहुनडाँगीमै फर्किनुभयो । “उमेर छउञ्जेल गरिखान बलियो पाखुराले पुगिहाल्यो, सन्तान नभएपछि नागरिकता बनाउनेतिर लागिएन”, उहाँले भन्नुभयो । पत्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेका उहाँसँग बुढेसकालमा न सन्तानको सहारा थियो, न त नागरिकता नै आधार ।

आसामबाट फर्केर आएपछि पत्नीको मृत्यु बाहुनडाँगीमै भएको उहाँले बताउनुभयो । अर्काको घरखेतमा ज्यालादारी काम गरेर जीवन बिताउँदै आउनुभएको उहाँको आफ्नो जग्गा छैन । रात काट्नका लागि चौबाटोको कुनोमा सानो झुपडी बनाएर उहाँ बस्दै आउनुभएको छ । ज्येष्ठ नागरिकको सम्मान र पहिचानका खातिर आफूले केशरबहादुरको नागरिकता बनाउने पहल गरेको वडाध्यक्ष बरालले बताउनुभयो । 

नागरिकता पाएपछि उहाँको जीवनमा खुसीको उमङ्ग छाएको छ । आफ्नो झुपडीमा बलियो झ्यालढोका नभएको कारण नागरिकता नहराओस् भनेर उहाँले छिमेकीको घरमा जतनका साथ राख्न दिने गरेको बताउनुभयो । “मर्ने बेलामा नागरिकता त साथमा भयो नि”, दसमुजा परेको अनुहारमा चमक छर्दै केशरबहादुर भन्नुहुन्छ, “गाउँका अरूले त चाहिँदैन तिमीलाई नागरिकता भनेर टिप्पा खेलाउँथे । वडाध्यक्ष बराल बाबुले चाहिँ हिँड्नुहोस् म बनाइदिन्छु भनेर घरमै लिन आउनुभयो ।” 

बुढेसकालमा ज्यालादारी काम गर्न नसकेर कयौ रात भोकै सुतेका केशरबहादुरले वृद्ध भत्ता थाप्न थालेपछि खान र लाउन चिन्ता गर्नुपरेको छैन । वडाका जनप्रतिनिधिले अशक्त ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता घरघरै पुर्‍याइदिने गरेका छन् । गाउँबस्ती पुग्ने क्रममा अर्काको घरमा आश्रय लिएर बसेका बोल्न नसक्ने र कान नसुन्ने थुप्रै बुढाबुढीहरूको विजोग देखेको र उनीहरूसँग नागरिकता समेत नरहेको थाहा पाएपछि नागरिकता प्रमाणपत्र बनाइदिने सोच उब्जिएको वडाध्यक्ष बराल बताउनुहुन्छ । आफन्तले हेरचाह नगरिदिँदा दुःख बिमार भएका बेला चन्दा उठाएर अस्पताल पुर्‍याउनुपर्ने अवस्थाका उनीहरूले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बिमामार्फत उपचार सुविधा नियमित रूपमा पाइरहेको वडाध्यक्ष बरालले बताउनुभयो ।  

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले व्यक्तिको अवस्था होइन, प्रमाण हेरेर नागरिकता दिइने बताउनुभयो । प्रमाणले नागरिकता पाउन योग्य वृद्धवृद्धाको नागरिकता बनाउन सकिने उहाँले बताउनुभयो । “नेपालमा वंशज, जन्म, विवाह र गैरआवासीय पहिचानका आधारमा नागरिकता दिइने कानुनी व्यवस्था छ”, सहायक प्रजिअ नेपालले भन्नुभयो, “उमेरले पाका भइसकेका र असहाय व्यक्तिहरुको नागरिकता सिफारिस गरेर वडाध्यक्षहरू प्रशासनमा आउनुहुन्छ । उहाँहरूको प्रमाण र सनाखतका आधारमा नागरिकता दिने गरेका छौंँ । शारीरिक अशक्तहरूको हकमा नागरिकता प्रमाणपत्र घरमै पुर्‍याइदिने समेत गरेका छौँ ।”

उमेरका आधारमा ज्येष्ठ नागरिकको दर्जामा पुगिसकेका व्यक्तिहरुको नागरिकता प्रमाणपत्र बनाउन वडाध्यक्षहरूले दिएको सिफारिस र सनाखत एउटा आधार भए तापनि वास्तविकता बुझ्न कानुनबमोजिम माग भ आएका प्रमाणहरू र प्रहरीमार्फत आउने प्रतिवेदनलाई मसिनो ढङ्गले हेर्ने गरिएको सहायक प्रजिअ नेपाल बताउनुहुन्छ ।

बुढेसकालमा शारीरिक दुर्बलताले गर्दा हिँडडुल गर्न मुस्किल हुन्छ । आयस्रोत नभएको अवस्थामा उनीहरूको जीविका कष्टकर हुन्छ । आफन्तको बेवास्ता र राज्यको उपेक्षा थपिँदा उनीहरूको जीवनयापन सास्तीपूर्ण हुन्छ । त्यस्तो बेला नागरिकता हुनेहरूले राज्यबाट सामाजिक सुरक्षा भत्ता र बिमाको उपचार पाउने गरेका छन् । तर, नागरिकता नभएकाहरु यो लाभबाट वञ्चित छन् । वर्षौंदेखि बसोवास गर्दै आएका ज्येष्ठ नागरिकहरू सनाखत गरिदिने नातेदारको अभावमा नागरिकता पाउनबाट वञ्चित रहँदै आएकामा मेचीनगर–२ को वडा कार्यालयले सराहनीय कार्य गरेको स्थानीय पूर्वशिक्षक धर्मानन्द निरौला बताउनुहुन्छ ।

राज्यले नागरिकता पाउन नसकेका वृद्धवृद्धालाई खोजीखोजी नागरिकता दिने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने र यस कार्यका लागि स्थानीय तहलाई परिचालन गर्नुपर्ने उहाँको धारणा छ । उहाँका अनुसार अझै पनि देशभर थुप्रै ज्येष्ठ व्यक्ति नागरिकता नपाइकनै मृत्युवरण गर्न बाध्य छन् । “बाहुनडाँगीका कुनाकाप्चासम्म आरा काटेर हिँड्ने गर्नुहुन्थ्यो । कहिले अर्काको घरमा ज्यालादारी गर्नुहुन्थ्यो”, केशरबहादुरको नागरिकता बनेकोमा खुसी व्यक्त गर्दै पूर्वशिक्षक निरौलाले भन्नुभयो, “अब त बुढो हुनुभयो, रोगी हुनुभयो । अर्काकोमा काम गर्न जानसक्नु हुन्न । यस्तो बेलामा नागरिकता बनेपछि कमसेकम राज्यको वृद्धभत्ताले बाँच्ने सजिलो आधार त बन्यो नि ।” रासस