• २० फागुन २०८१, मङ्गलबार

चित्रकला मार्फत् पर्यटकीय स्थलको प्रवर्धन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन २० गते । पर्यटन  प्रवर्धनका लागि अनेक उपाय अपनाइएका छन्, तर पछिल्लो समय चित्रकला पनि  प्रवर्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । राष्ट्रिय तथा स्थानीय कलाकार साथै विभिन्न सङ्घसंस्थाले नेपालका प्रसिद्ध पर्यटकीय स्थलहरूलाई क्यानभासमा उतार्दै विश्वभर फैलाउने अभियान सुरु गरेका छन् । 

यस अभियान अन्तर्गत शुक्रबार नेपालका चर्चित चित्रकार तथा मुर्तिकार धनु याक्खाको समूह ओखलढुङ्गा आइपुगेको थियो। उहाँसँग लिथोआनिया देशका चित्रकार मारियस र नेपालकै चर्चित चित्रकार विवेक मुकारुङ हुनुहुन्थ्यो । 

ओखलढुङ्गाको ठाँडे, जन्तरधाप र सोलुखुम्बुको पत्तालेबाट देखिने हिमश्रृङ्खलाको मनोरम दृश्यको प्रत्यक्ष रूपमा (लाईभ) चित्र बनाउनका लागि उहाँहरू यहाँ आउनु भएको हो । जहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित हिमश्रृङ्खलाहरूको मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । 

चित्रकार, मुर्तिकार याक्खा सहित लिथुआनियाबाट आउनु भएका चित्रकार मारियस र नेपाली कलाकार मुकारुङले आ–आफ्ना कुची चलाएर यस क्षेत्रका गन्तव्यको सुन्दरतालाई उजागर गर्ने गरी प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा तथा जनजीवन झल्कने चित्रहरू तयार पार्नुभएको छ । उक्त चित्रहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमार्फत् पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिने चित्रकार याक्खाले बताउनुभयो । 

पर्यटकको आँखाले अहिलेसम्म नदेखेका स्थलहरूलाई चित्रमार्फत उजागर गर्ने प्रयास गरिएको चित्रकार याक्खाले बताउनुभयो । याख्खाका अनुसार, दिगो पर्यटन विकासका लागि विभिन्न ठाउँहरूमा पुगेर चित्र निर्माण गरि देश तथा विदेशका पर्यटकहरूलाई आकर्षित गर्ने काम गरिएको छ । 

निकट भविष्यमा ओखलढुङ्गा अर्थात सोलुखुम्बुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई सहभागी गराई प्रत्यक्ष रूपमा (लाईभ) चित्र बनाउने विषेश कार्यक्रमको आयोजना गर्ने योजना रहेको कलाकार याक्खाले जानकारी दिनुभयो । 

पछिल्लो समय युवा तथा बालबालिकाहरू समेत चित्रकला, मुर्तिकला तर्फ आकर्षण बढ्न थालेको कलाकार याक्खाले बताउनुभयो ।