• २० फागुन २०८१, मङ्गलबार

पक्की पुल निर्माण हुँदै

blog

तानसेन समाचारदाता 

तानसेन, फागुन २० गते । जिल्लाको पूर्वखोला गाउँपालिकामा एकै पटक दुई वटा पक्की पुल निर्माण सुरु भएको छ । हुमिन–रिङ्नेरह–ज्यामिरे सडकखण्ड अन्तर्गतको पूर्वखोला गाउँपालिका–२, जल्पास्थित रकम खोला र वडा नं. ४ देवीनगरस्थित सिमल्दी खोलामा पक्की पुल निर्माण सुरु भएको हो ।  

लुम्बिनी प्रदेश सरकारको लगानीमा एउटै पालिकामा दुईव टा मोटरेबल पक्की पुल बनाउन सुरु गरिएको हो । सिमल्दी खोला पुल तीन करोड ७५ लाख ४१ हजार लगानीमा बनाउने ठेक्का सम्झौता भएको छ । यस्तै रकम खोलामा छ करोड आठ लाख नौ हजार लागतमा पुल निर्माण गर्ने सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ।  

सिमल्दी खोलाको पुल आगामी २०८२ कात्तिक १ गते सम्पन्न गर्ने सम्झौता भएको कार्यालयका प्रमुख वासुदेव भण्डारीले जानकारी दिनुभयो । सिमल्दी खोला पुलको लम्बाइ १६ मिटर रहेको छ भने फुटपाथसहित चौडाइ १० मिटरको छ । रकम खोलाको निर्माण कार्य आगामी २०८३ असार २३ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ भने पुलको लम्बाइ २६ मिटरको र चाडाइ १० मिटर रहेको उहाँले जानकारी दिनुभयो । पुल बनेपछि जिल्लाको पूर्वखोला गाउँपालिकाका छ वटा वडा, निस्दी गाउँपालिकाका तीन वटा वडा र रम्भा गाउँपालिकाका दुई वडाका स्थानीय बासिन्दा लाभान्वित हुने छन्।