लन्डन, फागुन १९ गते । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूले युद्धविरामको आह्वान गरेपछि उहाँको देशका लागि सुरक्षा ग्यारेन्टीहरू बिनाको युद्धविरामले रुसको आक्रमणको दीर्घकालीन अन्त्य नल्याउने बताउनुभएको छ ।
लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि आइतबार पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्धविरामले युद्ध अन्त्य गर्ने विचारलाई ‘पर्याप्त नभएको’ भन्दै खारेज गर्नुभयो ।
आइतबारको सङ्कट शिखर सम्मेलनपछि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले फ्रान्स र बेलायतले युक्रेनमा ‘हावामा, समुद्रमा र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविरामको प्रस्ताव गरिरहेको बताउनुभयो । यद्यपि यसले सुरुमा कम्तीमा जमीनी लडाइँलाई समेट्दैन ।
“यदि युक्रेनलाई गम्भीर सुरक्षा ग्यारेन्टीहरू बिना युद्धविरामका लागि बाध्य पारिएमा यो सबैका लागि एक असफलता हुनेछ”, जेलेन्स्कीले बेलायतबाट प्रस्थान गर्नुभन्दा केही समयअघि पत्रकारहरूलाई भन्नुभयो । उहाँले रुसले सम्झौता तोड्ने र युक्रेनले जवाफी कारबाही गर्ने अनुमान गर्नुभयो ।
“कल्पना गर्नुहोस् एक हप्तापछि रुसीहरूले हामीलाई प्रहार गर्नेछन् र हामी उनीहरूतर्फ गोली चलाउनेछौँ, पूर्णरूपमा बुझ्न सकिन्छ र यो के हुनेछ रु”, कसले पहिलो गोली चलायो भन्नेबारे वर्षौंको झगडाको अनुमान गर्दै उहाँले भन्नुभयो, “यसबाट कसलाई फाइदा हुनेछ रु रुसीहरूलाई, तर निश्चित रूपमा हामीलाई होइन ।”
आइतबारको वार्तालाई ‘धेरै शक्तिशाली सुरुआत’ भनेर वर्णन गर्दै जेलेन्स्कीले भन्नुभयो, “आगामी हप्ताहरूमा वार्ताहरूले अधिक कार्यान्वयनयोग्य योजना र युक्रेनको सुरक्षा ग्यारेन्टीहरू कस्तो देखिन सक्छ भन्नेबारे राम्रो बुझाइ प्रदान गर्नेछ ।”
शुक्रबार वासिङ्टनमा भएको क्रोधित मुठभेडका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जे डी भान्सले जेलेन्स्कीलाई ‘कृतज्ञ’ नभएको र उहाँहरूको प्रस्तावित युद्धविराम सर्तहरू स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाउनुभयो । यद्यपि जेलेन्स्कीले आफूलाई सुरक्षा ग्यारेन्टी चाहिएको बताउनुभयो ।
विवादास्पद बैठकको परिणामस्वरूप जेलेन्स्की युक्रेनी खनिज अधिकारहरू साझा गर्नेबारे प्रारम्भिक सम्झौतामा हस्ताक्षर नगरिकन ह्वाइट हाउस छाड्नुभयो ।
त्यसपछि केही वरिष्ठ अमेरिकी रिपब्लिकनहरूले जेलेन्स्कीले राजीनामा दिनुपर्ने सुझाव दिए ।
“हामीलाई एउटा नेता चाहिन्छ जसले हामीसँग व्यवहार गर्न सक्छ, अन्ततः रुसीहरूसँग सम्झौता गर्न सक्छ र यो युद्धको अन्त्य गर्न सक्छ”, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सिएनएनलाई भन्नुभयो ।
जेलेन्स्कीले आइतबार उहाँलाई प्रतिस्थापन गर्न सजिलो हुनेछैन भन्नुभयो तर आफ्नो युद्धग्रस्त देशका लागि नाटो सदस्यताको बदलामा पदबाट हट्ने आफ्नो प्रस्ताव दोहो¥याउनुभयो ।
“यदि उनीहरूले मलाई प्रतिस्थापन गर्छन् भने जे भइरहेको छ त्यो हेर्दा, समर्थन हेर्दा, मलाई केवल प्रतिस्थापन गर्नु सरल हुनेछैन”, जेलेन्स्कीले भन्नुभयो, “केवल चुनाव गर्नु पर्याप्त छैन । तपाईंले मलाई उम्मेदवार हुनबाट पनि रोक्नुपर्छ । यो केही बढी कठिन हुनेछ । यस्तो देखिन्छ कि तपाईंले मसँग वार्ता गर्नुपर्नेछ, अनि मैले भनेँ कि म नाटोका लागि साटासाट गर्दैछु । त्यसपछि मैले मेरो लक्ष्य पूरा गरेँ ।”
जेलेन्स्कीले शान्तिकालमा सन् २०२४ को चुनावको सामना गर्नुपर्ने थियो भन्दै रुसले जेलेन्स्की वैध राष्ट्रपति नभएकामा बारम्बार जोड दिएको छ । युक्रेनको मार्शल लले चुनाव आयोजना गर्न कानूनी प्रतिबन्ध लगाएको छ । रासस, एएफपी