काठमाडौँ, फागुन १९ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ ।
प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा. राणा र गृहमन्त्री रमेश लेखकले सो विश्वास दिलाउनुभएको हो ।
मन्त्री डा. राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई उनको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुन बमोजिम कडा कारबाहीका आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको र उनलाई न्याय दिलाउने बताउनुभएको हो ।
प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेको र उक्त घटना भएलगत्तै त्यहाँका उच्च शिक्षामन्त्रीसँग पनि फोनवार्ता गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पठनपाठनको उचित र सुरक्षित प्रबन्ध गर्न आग्रह गरेको जानकारी गराउनुभयो ।
प्रकृतिका बुबाआमासँग उहाँले भन्नुभयो “मैले कुटनीतिक माध्यमबाट भारत सरकारसँग दोषीमाथि कानुनी कारबाहीका लागि पहल गर्न भनेकी छु र यसलाई निरन्तर फलोअप पनि गरिरहेकी छु । सरकारले यसलाई फलो गरिरहेको छ । प्रकृतिलाई न्याय दिलाउने काममा म र गृहमन्त्रीजीले कुनै कसर बाँकी राख्ने छैनौँ ।”
ओडिसाका मुख्यमन्त्रीले यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि राज्यस्तरबाट नै उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु भइसकेको जानकारी आफूलाई गराएको पनि मन्त्री डा. राणाले बताउनुभयो ।
यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी पनि मन्त्री डा. राणाले दिनुभयो ।
सो विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन ४ गते रहस्यमय मृत्यु भएको थियो । त्यस लगत्तै नेपाली विद्यार्थीमाथि ज्यादति सुरु भएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको हो ।