• २० फागुन २०८१, मङ्गलबार

तमोर नदीको सुकेपानीमा बेलिब्रिज निर्माण सुरु

blog

तमोर कोरिडोर जोड्ने बेलिब्रिज निर्माण गर्न लागिएको तमोर नदीस्थित सुकेपानी क्षेत्र । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १९ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीको सुकेपानीमा बेलिब्रिज अर्थात् मोटर गुड्ने पुल निर्माणको काम सुरु भएको छ । भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय सडक सञ्जालका रुपमा रहेको तमोर कोरिडोर जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको हो ।

फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको सुकेपानीस्थित तमोर नदीमा शनिबारदेखि बेलिब्रिज निर्माणको काम सुरु भएको हो । तमोर कोरिडोर (सुभाङखोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनाका अनुसार बेलिब्रिज निर्माणको जिम्मा पाएको निर्माण कम्पनी शक्तिकुण्ड सुष्मा जेभीले काम सुरु गरेको हो ।

सडक योजनाका प्रमुख सिंहबहादुर बिष्टका अनुसार तमोर कोरिडोर सडकको इलाडाँडा–सुकेपानी खण्डअन्तर्गत तमोर नदीमा बेलिब्रिज निर्माण गर्न लागिएको हो । ओलाङ्चुङगोलासम्म यातायात सञ्चालन गर्न सहज हुनेगरी सुकेपानीमा मोटरेवल पुल बेलिब्रिज निर्माणको काम सुरु भएको योजना प्रमुख बिष्टले बताउनुभयो । बिष्टका अनुसार आउँदो असार मसान्तभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्नेगरी सडक योजना र निर्माण कम्पनीबिच सम्झौता भएको छ । 

कुल एक करोड ७१ लाख रुपियाँ बजेटमा बेलिब्रिज निर्माण गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि उहाँले जानकारी दिनुभयो । सडक योजनाका सूचना अधिकारी एवम् इन्जिनियर बसन्त गाइँका अनुसार सकेपानीमा बन्ने बेलिब्रिजको लम्बाइ ५० मिटरको हुने छ । निर्माण कम्पनीले काम सुरु गरेसँगै समयभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्नका लागि सडक योजनाले नियमित निगरानी गर्ने योजना बनाएको पनि इन्जिनियर गाइँले बताउनुभयो ।

निर्माण कम्पनी शक्तिकुण्ड सुष्मा जेभीका प्रतिनिधि ध्रव कार्कीले बेलिब्रिज निर्माणका लागि पुलको जिप लगायतका संरचना निर्माणको काम सुरु गरिएको जानकारी दिनुभयो । मङ्गलबारदेखि बुधबार सम्ममा तारजाली, रड लगायतका निर्माण सामग्री निर्माणस्थलमा पुग्ने र त्यसपछि कामलाई तीब्रता दिइने कम्पनीका प्रतिनिधि कार्कीले बताउनुभयो । बर्खायाम सुरु भइसकेकाले तोकिएको समयभित्रै बेलिब्रिज जडान गर्नेगरी काम गरिने उहाँको भनाइ छ ।

सुकेपानीमा हाल मेची राजमार्ग सडकको काबेली खोलामा रहेको बेलिब्रिज लगेर जडान गर्न लागिएको हो । ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने मेची राजमार्गको काबेली खोलामा रहेको पुरानो बेलिब्रिज झिकेर तमोर कोरिडोरको सुकेपानीमा जडान गर्न लागेको सडक योजना प्रमुख बिष्टले बताउनुभयो । वि.सं २०५३ सालतिर निर्माण भएको बेलिब्रिज प्रयोग गर्ने अवधि सिद्धिएकाले काबेली खोलाबाट झिक्न लागिएको पनि योजना प्रमुख बिष्टको भनाइ छ । 

उहाँका अनुसार पुरानो काम दिने सामग्री प्रयोग हुने र काम नलाग्ने सामग्री परिवर्तन गरी सुकेपानीमा बेलिब्रिज निर्माण गरिने छ । काबेली खोलामा बेलिब्रज रहेको ठाउँमा भने मेची राजमार्ग जोड्ने गरी पक्की मोटरेवल पुल निर्माण भइसकेको छ । तमोर कोरिडोर सडकले नेपाल–भारतको सिमाना जोगवनी विराटनगर रानी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला जोड्दछ ।