चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा आयोजना गरिएको पहिलो सहिद कप भलिबल उपाधि मुकेश मेमोरियल क्लब आम्बेगुदिनले जितेको छ । कुञ्जारी स्पोर्टिङ क्लब सिकैँचालाई सोझो सेटमा हराउँदै आम्बेगुदिनले उपाधि जितेको हो ।
आम्बेगुदिनले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२३ को अङ्कसहित जित निकालेको हो । उपाधि जितसँगै आम्बेगुदिनले १० हजार ५०० रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको कुञ्जारीले पाँच हजार रुपियाँ र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
सहिद सप्ताहको अवसरमा नेकपा (माओवादी केन्द्र) वडा कमिटी सिकैँचाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विजेता र उपविजेता टोलीबाहेक फावाखोला स्पोर्टिङ क्बल, बोखिम स्पोर्टिङ क्बल, तेल्लोक स्पोर्टिङ क्लब र हेन्छेबुङ स्पोर्टिङ क्लबसहित छ टोलीको सहभागिता रहेको थियो ।
विजेतालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितासँगै सिकैँचाका सहिद परिवारलाई सम्मानसमेत गरिएको माओवादी केन्द्र सिरिजङ्घा गाउँपालिका कमिटी सहसचिव हेमन्त पौडेलले जानकारी दिनुभयो ।
फागुन १४ देखि २१ गतेसम्म माओवादीले सहिद सप्ताहका रूपमा मनाउने गरेको छ । प्रतियोगिता सरस्वती माध्यमिक विद्यालय कुञ्जारीको खेलमैदानमा सञ्चालन गरिएको थियो ।