मुगु, फागुन १९ गते । नेपालकै प्रमुख पर्यटकीय स्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिनुभयो ।
जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुग्नुभएको थियो । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उहाँले नमान्नुभएको अस्पतालले जनाएको छ । चेकजाँचपछि सल्लेरी फर्कनुभएको तर सोमबार बिहान ६ बजेतिर उहाँलाई साथीहरूले एम्बुलेन्समा लिएर आउनुभएको थियो । अस्पताल पुग्दा उहाँको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भुवनमा मोटोपन थियो । दमको पनि दीर्घरोगी पनि हुनुहुँदो रैछ । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उहाँको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताउनुभयो ।
आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो । रासस