• १९ फागुन २०८१, सोमबार

पन्ध्रौं पसगाउँ महोत्सव सुरु

blog

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन १८ गते । लमजुङको क्व्होलासोंथर गाउँपालिका –६ पसगाउँमा आइतबारदेखि पन्ध्रौं पसगाउँ महोत्सव सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुभयो । 

महोत्सवको उद्घाटन गर्दै पर्यटनमन्त्री बस्यालले गाउँमा रैथाने उत्पादन र यातायातको सुधार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो । 

उहाँले पसगाउँसहित गण्डकी प्रदेशमा रहेका होमस्टे गाउँहरुको विकास र प्रवर्धनका लागि आफु र मन्त्रालय लागिपर्ने बताउनुभयो । मन्त्री बस्यालले गाउँको रैथाने उत्पादनलाई लेबलिङ र ब्राण्डिङ गरेर विश्वभर निर्यात गर्दै स्वरोजगार आयआर्जन बढाउन सकिने बताउनुभयो । 

उहाँले गण्डकी प्रदेश सरकारले स्थानीय कोदोको रक्सीलाई लेबलिङ र ब्राण्डिङ गर्न प्रदेशसभामा विधयेक पेश गरिएको बताउनुभयो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पर्यटन र कृषिको विकासबाट पालिकाको विकास र सम्वृद्धि सम्भव हुने बताउनुभयो । क्व्होँलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँको कलासंस्कृतिलाई विश्वभर फैलाउन र पर्यटकलाई गाउँमा भित्राउन पसगाउँ महोत्सव गरिदैं आएको बताउनुभयो ।

क्व्होँलासोथर गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले सबै पर्यटकीय गाउँहरु एकापसमा मिलेर गाउँ पर्यटनको विकासमा लाग्नुपर्ने बताउनुभयो । क्व्होँलासोथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) का प्रतिनिधि बृज गुरुङ, वडा ७ का अध्यक्ष लक्ष्मण गुरुङले पर्यटनको विकास गर्न अन्य पूर्वाधारका क्षेत्रमा पनि सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

२०६० साल यता हरेक दुई बर्षको फरकमा पसगाउँमा महोत्सव हुँदैआएको छ ।  क्व्होलासोंथर –६, पसगाउँका वडाअध्यक्ष मनलाल गुरुङले गाउँमा पर्यटक बस्नका लागि २१ घरमा होमस्टे सञ्चालन गरिएकोे बताउनुभयो । 

महोत्सवमा लोपुन्मुख घाँटु, कृष्णचरित्र, सारङ्गीनाच, आमा समूह, यूवा क्लबको पौराणिक नृत्य प्रस्तुत गरिएको छ । महोत्सवमा अलैंची र चिया बगानको दृश्यावलोकन, स्थानीय गुरुङ खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका कार्यक्रम राखिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक गोपाल गुरुङले बताउनुभयो ।