रामकृष्ण बोहरा
बागलुङ, फागुन १८ गते । प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा परिचित जैमिनी धामपछि दक्षिण बागलुङको जैमिनी नगरपालिकाको अर्काे चर्चित पर्यटकीय गन्तव्य हो हाँडीकोट । जैमिनी नगरपालिका बनेपछि हाँडीकोटको चर्चा हुन थालेको हो ।
त्यहीँ हाँडीकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय लागि परेका छन् । नगरपालिकाले हाँडीकोट टापुको संरक्षण एवम् प्रवर्धनमा चासो दिन थालेपछि त्यहाँ दैनिक जसो आन्तरिक पर्यटक पुग्न थालेका छन् । दुई हजार १ सय ९५ मिटर उचाइमा रहेको हाँडीकोट टापु सूर्योदय हेर्ने धार्मिक पर्यटनको अर्काे आर्कषक गन्तव्य हो ।
पछिल्लो समय हाँडीकोट पुग्नेको भिड नै लाग्न थालेको राङ्खानीका स्थानीय मित्र थापा बताउनुहुन्छ । वनभोज खान, भेला, गोष्ठी र सेमिनारका लागि हाँडीकोट पुग्नेसमेत बढेका छन् ।
जैमिनी नगरपालिकाले हाँडीकोटमा भ्युटावरसँगै पर्यटकीय पूर्वाधार समेत निर्माण गरिरहेको छ । हाँडीकोट भुरेटाकुरे राजाको पालाको प्रशासनिक केन्द्र थियो । शासन चलाएको ठाउँमा अहिले अवषेशहरू समेत मेटिन थालेका छन् । नगरले हाँडीकोटको महत्त्व जोगाई राख्न र नगरक्षेत्रमा विसं १८६५ मा निर्मित थन्थाप भगवती मन्दिरसँग जोड्ने अभियान थालेको छ ।
सडक मार्ग र पदमार्गले हाँडीकोट र थन्थापी माई जोड्दा पर्यटकका लागि अवसर हुनसक्ने जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्मा बताउनुहुन्छ । दुवै पर्यटकीय क्षेत्र सहज सडक सञ्जालले जोडिँदा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने शर्माले विश्वास व्यक्त गर्नुभयो । जैमिनी १० राङखानीमा पर्ने हाँडीकोट टापुमा आगामी फागुन २६ देखि चैत्र १ गतेसम्म छैठौँ हाँडीकोट महोत्सव हुँदैछ । त्यसको तयारीमा स्थानीय जुटिरहेका छन् । स्थानीयको साथमा महोत्सवको अगुवाई भने हाँडीकोट सामुदायिक विकास केन्द्रले गरिरहेको छ ।
पर्यटकको आवागमन बढ्दै जान थालेपछि थप प्रचार प्रसारका लागि महोत्सवलाई निरन्तरता दिँदै आएको केन्द्रका अध्यक्ष धनबहादुर थापाले बताउनुभयो । हाँडीकोट पुग्ने पर्यटकले कोदोको ढिँडो, लोकल कुखुरा र खसीको मासु खोज्ने थालेपछि स्थानीयवासीले आर्थिक लाभ समेत लिन पाएको थापाको भनाइ छ । हाँडीकोट पुग्ने कच्ची मोटरबाटोलाई स्तरोन्नति गर्न सके थप पर्यटक भित्राउन सकिने थापाले विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा खुला पुरुष र महिला भलिबल, नृत्य, सालैजो प्रतियोगिता आयोजना गरिएको छ । पुरुष भलिबलको विजेताले ५५ हजार रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले २५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै, महिला भलिबलमा प्रथम हुनेले ८ हजार, द्वितीय हुनेले ५ हजार तृतीय हुनेले ३ हजार रुपियाँ प्राप्त गर्ने छन् । महोत्सवमा जनवादी गायक जीवन शर्मा, लोक गायिका देवी घर्ति, लोक गायक वसन्त थापाले साङ्गीतिक प्रस्तुत दिने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।