जनार्जन खत्री
सर्लाही, फागुन १८ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा आइतबार गाडीको ठक्करबाट निलगाईकाे मृत्यु भएकाे छ । लालबन्दी नगरपालिका–९, स्थित डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ३७४९ नम्बरको कारमा ठोक्किँदा निलगाईको मृत्यु भएकाे हो ।
निलगाईसँग ठोक्किँदा कारको अगाडिपट्टिको भाग कुच्चिएको छ । आइतबार बिहान ९ बजेतिर भएको दुर्घटनापछि कार चालक सम्पर्कविहीन भएका छन् । कारको ठक्करबाट मृत्यु भएकाे निलगाई र दुर्घटनामा परेको कार डिभिजन वन कार्यालयमा ल्याएर राखिएको कार्यालयका वन अधिकृत सागर बस्यालले जानकारी दिनुुभयो ।
वन अधिकृत बस्यालका अनुसार वयस्क हुनेक्रममा रहेको निलगाई कारको ठक्करबाट घटनास्थलमै मरेको हो । कार चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही चलाइने डिभिजन वन कार्यालयका वन अधिकृत बस्यालले बताउनुुभएको छ ।
डिभिजन वन कार्यालय आसपास उष्ण प्रदेशीय बागवानी केन्द्रभित्र ठूलो सङ्ख्यामा निलगाई अर्थात् घोडगधा देखा पर्ने गरेका छन् । सडक वारवार गर्दा यसरी बारम्बार गाडीको ठक्करबाट निलगाई मर्ने तथा घाइते हुने क्रम बढेको छ ।