• १९ फागुन २०८१, सोमबार

‘मधेशी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग माओवादीले गरेको छ’

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा बोल्नुहुँदै । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

धनुषा, फागुन १८ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताउनुभएको छ । धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदा गरेको र मधेशी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेशी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उहाँले बताउनुभयो । मधेशी जनताको मुक्तिका लागि यति ठुलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबिच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताउनुभयो ।

मधेशी जनताको मुक्तिका लागि मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेशी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत सङ्घीयताको व्यावहारिक अभ्यास गर्ने, संविधानमार्फत सङ्घीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेशको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उहाँले स्पष्ट गर्नुभयो ।

अध्यक्ष प्रचण्डले अब आफूलाई मदेसका मसिहा ठान्ने दलहरूबाट मधेशी जनताको मुक्ति संभव नभएकाले मधेशमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीका सबै पदाधिकारी अहिले मधेशमा रहेको र मधेशी पोशाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उहाँले यो पोशाक मात्रै नभई आफूहरुको मन पनि मधेशमा छ भन्ने विम्व भएको उहाँले स्पष्ट गर्नुभयो ।