कल्याणपुर समाचारदाता
कल्याणपुर (सप्तरी), फागुन १८ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छिन् । नातेदारकहाँ पुर्याइदिन्छु भन्दै छिमेकीले मोटरसाइकलमा लगेर बालिकालाई बिचबाटोमा एकान्तस्थलमा बलात्कार गरेको उनको परिवारले आरोप लगाएका छन् ।
पीडित बालिकाको गुप्ताङ्गबाट अत्यधिक रक्तस्राव भइरहेको अवस्थामा आफन्तले उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा पुर्याएर तीन दिनदेखि उपचार भइरहेको छ । बालिकाको स्वास्थ्य परीक्षण र बयान सकेर रगतलगायत थप प्रमाण परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको केन्द्रका स्वास्थ्यकर्मी मनिष सिम्खडाले जानकारी दिनुभयो ।
अत्यधिक रक्तस्रावका कारण सुरुमा बालिकाको स्वास्थ्य अवस्था जटिल भए पनि अहिले भने सुधार हुँदै गएको उहाँको भनाइ छ । गत फागुन १४ गते सीमावर्ती भारतीय क्षेत्रमा रहेका नातेदार बिरामी पर्दा छिमेकी १९ वर्षीय कुदुसलाई त्यहाँसम्म पुर्याइदिन आग्रह गरेको र दिउँसो मोटरसाइकलमा छोरीलाई लिएर गएका कुदुसले साँझपख भने बेहोस अवस्थामा ल्याएर घरमा छाडिदिएको पीडितकी आमाले बताउनुभयो ।
उहाँले पीडित बालिकाकी आमाले शुक्रबार सञ्चारकर्मीसित कुरा गर्दै बाटोमा बिरामी भएर ढिलो भयो भन्दै छोरीलाई छाडेर गएका कुदुस त्यसपछि गाउँबाट फरार भएको जानकारी दिनुभयो । उहाँले छोरीको गुप्ताङ्गबाट लगातार रक्तस्राव हुने क्रम बढ्दै गएपछि उपचारका लागि अस्पताल ल्याएको बताउनुभयो ।
छोरा जस्तो मान्दै आएको व्यक्तिबाट यस्तो घृणित काम भएको भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसमेत दिनुभएको छ । पीडित पक्षबाट जाहेरी आएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँले घटनाबारे अनुसन्धान थालिएको बताउनुभयो ।