विजयकुमार साह
ढल्केबर, फागुन १७ गते। धनुषाको लालगढमा माझी समुदायले जातीय पहिचानका लागि सडक प्रदर्शन गरेका छन्। शनिबार लालगढका माझी समुदायले माझी समुदायको महान् चाड कोशी (लदी) पूजाको अवसर पारेर सडक प्रदर्शन गरेका हुन्।
लालगढ माझी समाजको आयोजनामा गरिएको प्रदर्शनीमा माझी समुदायको मौलिकता झल्कने विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। माझी टोलबाट जातीय पहिचान झल्किने परम्परागत पहिरनमा बाजागाजासहित झाँकी प्रदर्शन गरेका थिए। माझी समुदायको संस्कृति र रीतिरवाजलाई उजार गर्न यो कार्यक्रम गरिएको स्थानीय ईश्वर माझीले बताउनुभयो।
प्रदर्शनमा नेपाल माझी उत्थान सङ्घका पदाधिकारी तथा माझी समुदायको उल्लेखनीय सहभागिता थियो। सडक प्रदर्शनपछि लालगढ चोकमा माझी जातिको विविध मौलिक झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले मुलुक बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय भएकाले यस्तो कार्यक्रमले समाजमा सद्भाव, सहिष्णुता, एकता तथा एकअर्काप्रतिको सम्मानमा वृद्धि गर्ने बताउनुभयो। उहाँले माझी समुदायको मुख्य पेसा माछा मार्ने भएता पनि बदलिँदो समयअनुसार शिक्षा आर्जनमा ध्यान दिन आवश्यक रहेको सुझाव दिनुभयो।
नेपाल माझी उत्थान सङ्घ धनुषाका अध्यक्ष ललित माझीले माझी समुदायको पहिचान, संस्कृति तथा परम्परालाई जोगाइराख्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले विशेष नीति तथा कार्यक्रम ल्याएर सहयोग गर्नुपर्ने बताउनुभयो।