• १७ फागुन २०८१, शनिबार

पाँच अस्पताल बन्द गर्ने निर्देशन दिएको छुः मुख्यमन्त्री सिंह

blog

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अस्पतालको निरीक्षण गर्नुहुँदै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, फागुन १७ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा बिना दर्ता सञ्चालित पाँच वटा अस्पताललाई बन्द गर्न निर्देशन दिएको बताउनुभएको छ । अनुगमनको क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको भएको हो ।

शुक्रबार बेलुका उहाँले बर्दिवासको आठ अस्पताल अनुगमन गर्नु भएको थियो । तीमध्ये पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक सेवा सञ्चालन अनुमति नलिएकाले तत्काल बन्द गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले अस्पताल सञ्चालकहरूलाई विधि पूरा गरी अनुमति लिएपछि मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको बताउनुभयो । अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक स्वीकृत रहेको पाइए पनि जनसेवा हस्पिटल र डि.एन.बि मेडिकेयर सेन्टरलाई नवीकरण गराउन भनिएको छ ।

उहाँ पछिल्लो समय भौतिक पूर्वाधार, उपकरण र जनशक्ति मापदण्ड नपुगेका अस्पतालहरू बन्द गर्न अभियान तीव्र बनाउँदै आउनुभएको छ । यसअघि मधेश प्रदेशको जनकपुर र वीरगन्जको अस्पतालमा अनुगमन गर्नुभएको थियो । त्यसक्रममा बिना दर्ता सञ्चालित जनकपुरका २० र वीरगन्जको एक गरी २१ वटा अस्पताल बन्द गराउनु भएको थियो ।