हापुर बगियाका टेकनाथ गौतमले ‘पानी बचाऊँ’ अभियान थाल्दै चार दशकअघि एउटा प्रश्न गरेका थिए, “ठाडा खोलाखोल्सी सुक्दै गएका छन्, दाङ उपत्यका मरुभूमीकरण त हुँदैन ?” गौतमले दाङ जिल्ला विकास समितिको ढोकामा उभिएर पानी मुहान संरक्षणमा सबैको ध्यान खिचेका थिए । गौतमले शङ्का गरे जस्तै परिस्थिति त्यस्तै बन्दै गयो ।
पानीको अभावले दाङ उपत्यकामा खेती प्रभावित बन्दै गएपछि उपाय निकालियो, कृत्रिम तालतलैया निर्माण । अहिले दाङको परिचय नै फेरिएको छ, तालतलैयाको उपत्यका । दाङमा ७० भन्दा बढी जलाशय निर्माण गरिएको छ । दाङ उपत्यकामा चेपे, बाह्रकुने, चरिङ्गेलगायत प्राकृतिक ताल थिए । तथापि स्थानीय र प्रदेश सरकारका पहलमा घोराही उपमहानगरपालिकामा मात्रै ४३ वटा जलाशय निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा १४ वटा जलाशय निर्माण गरिएको छ । बबई गाउँपालिकामा तीन, दङ्गीशरणमा पाँच र शान्तिनगर गाउँपालिकामा दुई वटा जलाशय निर्माण गरिएको छ । जलाशयको निर्माणसँगै कृषि, पर्यटन विकासमा सहयोग पुग्नुका साथै पर्यावरण र हरियाली प्रवर्धनमा समेत सहयोग पुगेको छ । पोखरीमा माछापालन र डुङ्गा सञ्चालन गरी स्थानीयले आयआर्जनसमेत गरिरहेका छन् । जलाशय निर्माणपछि चराचुरुङ्गीको आगमन र वासस्थानसमेत विकास भइरहेको छ । सुक्दै गएका कुवा, जरुवा, पँधेरामा पानी पलाउन थालेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा त्यस्ता सिमसार क्षेत्रलाई बढी प्राथमिकता दिएर संरक्षण गर्न थालिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका बबई, तुलसीपुर, घोराही, शान्तिनगर पालिकाका वन क्षेत्रमा त्यस्ता सिमसार क्षेत्रको संरक्षण अभियान नै सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयमार्फत विभिन्न सामुदायिक वन क्षेत्रका पोखरी संरक्षण कार्य गरिएको छ । कार्यालयले जैविक विविधता कायम गर्न, वन क्षेत्रमा गर्मीयाममा डढेलो नियन्त्रण गर्न, जलचर, थलचर, वन्यजन्तुको संरक्षणका लागि पोखरी निर्माण गरेको बताइन्छ ।
पर्यावरणकर्मी डिल्लीबहादुर रावतका अनुसार जिल्लामा सिमसार क्षेत्र संरक्षण अभियानकै रूपमा सञ्चालन भएपछि नयाँ नयाँ प्रजातिका चरा देखिन थालेका छन् । उत्तरी क्षेत्रमा निर्माण गरिएका जलाशय, पोखरीले जैविक विविधता कायम गर्नुका साथै गर्मीयाममा पानीका मुहान सुक्ने समस्या दीर्घकालीन रूपमा समाधान हुने अवस्था उत्पन्न भएको छ ।
पर्यावरणकर्मी रावत भन्नुहुन्छ, “दाङ उपत्यकामा जलाशय निर्माणले प्राकृतिक सुन्दरता कायम राख्न, पारिस्थितिक प्रणाली जोगाउनसमेत उत्तिकै योगदान दिएको छ ।”
जिल्लामा सीमसार क्षेत्रको संरक्षण र जलाशय निर्माणपछि नयाँ प्रजातिका चरा देखा पर्न थालेका छन् । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको अध्ययन अनुसार घोराही उपमहानगरपालिका–२, रामपुरको चरिङ्गे दहमा सरकारद्वारा संरक्षित गरिएको सेतो गरुड फेला परेको छ । सिमसार क्षेत्रमा सेतो बकुल्ला, हुटिट्याउँ, सिमचल्ला फेला परेका छन् । घोराही उपमहानगरपालिकाको रामपुरमा रहेको चरिङ्गे दह, चेपे ड्याम र ढिकपुरमा रहेको दुन्द्रा तालमा समेत चराको अध्ययन गरिएको जनाइएको छ ।
देखा परे पर्यटक चरा
चीन, साइबेरियाबाट जाडो मौसममा आउने चरा दुन्द्रा तालमा गत वर्ष देखिएका थिए । घोराही उपमहानगरपालिका–१०, ढिकपुरस्थित दुन्द्रा तालमा विशेष गरेर बटुक हाँस पाइन्छ । चरा संरक्षणकर्मी चिरञ्जीवी खनालका अनुसार जिल्लामा सिमसार क्षेत्रको संरक्षणसँगै नदी, खोलामा जाने चरा त्यस्ता सिमसार क्षेत्रमा देखिन थालेका छन् । जिल्लामा तालतलैया संरक्षण, जलाशय निर्माण गर्न थालेपछि विभिन्न स्थानबाट चरा आउन थालेका छन् । सिँचाइ सुविधा पु-याउने उद्देश्यले निर्माण गरिएका जलाशय पछिल्लो समय डुङ्गाले भरिन थालेका छन् । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका अधिकांश जलाशयमा पछिल्लो समय पर्यटक आकर्षण गर्नका लागि डुङ्गा सञ्चालनमा ल्याइएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१८, रानी सामुदायिक वन क्षेत्रमा वन्यजन्तुका लागि पानी र किसानलाई सिँचाइ सुविधा पु-याउन तीन वर्षअघि जलाशय निर्माण गरिएको थियो । वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीका अनुसार उक्त जलाशय क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न डुङ्गा सञ्चालनमा ल्याइएको छ । जलाशयनजिकै कहिल्यै पानी नसुक्ने तिपतिपे धारा भएकाले सोही क्षेत्रमा वनभोजका लागि संरचना निर्माण गर्ने योजनासमेत वडाको छ । उक्त जलाशयबाट किसानले बाह्रै महिना सिँचाइ सुविधा प्राप्त गरेका छन् । वडा नम्बर १० मा रहेको गौरीगाउँ जलाशय मस्त्यपालनका लागि निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–२ स्थित कात्तिके जलाशयमा डुङ्गा सञ्चालनमा ल्याउन थालिएको छ । वडाध्यक्ष भीमबहादुर योगीका अनुसार जलाशय गहिरो भएका कारण डुङ्गा सञ्चालनका लागि पर्याप्त सुरक्षा व्यवस्था र दक्ष जनशक्ति तयार गरिने छ । तुलसीपुर उपमहानगरपालिका–७ स्थित शान्ति उद्यानमा समेत डुङ्गा हस्तान्तरण गरेको पालिकाले जनाएको छ । जलाशयमार्फत सिँचाइ, माछापालन र पर्यटन प्रवर्धन गर्न पालिकाले नै डुङ्गा खरिद गरी हस्तान्तरण गर्दै आएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार जलाशयलाई पर्यापर्यटनका रूपमा विकास गर्न पालिकाभित्र निर्माण गरिएका जलाशयमा डुङ्गा हस्तान्तरण गरिएको हो ।
भरिए कुवा र जरुवा
तुलसीपुर उपमहानगरपालिका–१९ स्थित गौरीसोतामा तीन वर्षअघि डिभिजन वन कार्यालयले पोखरी निर्माण गरेको थियो । पकर्रे सामुदायिक वनको दक्षिणतर्फ यो पोखरी रहेको छ । डिभिजन वन कार्यालय घोराही र पकर्रे सामुदायिक वनको संयुक्त लगानीमा निर्माण गरिएको पोखरीले वरपरका कुवा भरिन थालेको छ । गर्मीयाममा पशुपन्छीलाई पानी अभाव नहोस् र वनमा डढेलो लाग्दा निभाउन सजिलो होस् भन्ने उद्देश्य राखेर पोखरी निर्माण गरिएको थियो । पोखरीनजिकै रहेको गौरीसोता जरुवा गर्मीयाममा सुक्ने गर्दथ्यो । वनका अध्यक्ष मुरलीधर केसीका अनुसार पोखरी निर्माणपछि उक्त जरुवा गर्मीयाममा पनि सुकेको छैन । केसी भन्नुहुन्छ, “पहिले जरुवा सुक्थ्यो, धारामा पानी नआउँदा त्यही जरुवाको पानी प्रयोग गथ्र्यौं, जुन समयमा पानी बढी चाहिन्न्छ, त्यही बेला सुक्ने गथ्र्यो तर अहिले जरुवा सुकेको छैन ।”
तुलसीपुर उपमहानगरपालिका–१९, पकर्रेकै ८४ वर्षीय श्रीधर पौडेलका अनुसार कुवा खनेको २३ वर्षभन्दा बढी भयो, पहिले पहिले गर्मीयाममा कुवामा पानी सुक्थ्यो, अहिले तीन वर्ष भयो कुवाको पानी सुक्दैन । घोराही, तुलसीपुर उपमहानगरपालिकाका र गाउँपालिकाका गाउँबस्तीका वडा अहिले हराभरा हुन थालेका छन् । पाँच वर्षको अवधिमा घोराहीमा मात्रै ४३ वटा तालतलैया, जलाशय निर्माण गरिएका छन् ।
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीका अनुसार पर्यावरण जोगाउन, कृषि क्षेत्रबाट नै आर्थिक उन्नति हासिल गर्न सकिन्छ भन्ने उद्देश्यलाई सार्थक बनाउन, बाह्रै महिना खेतबारीमा सिँचाइ सुविधा पु-याउन, पर्यापर्यटन विकास गर्न जलाशय निर्माणले महìवपूर्ण भूमिका निर्वाह गरेको छ ।
चुरे र महाभारत पर्वतले घेरेको एसियाकै दोस्रो ठुलो उपत्यका हो दाङ । घोराही उपमहानगरपालिका पूर्वमा बङ्गलाचुली गाउँपालिका, पश्चिममा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ । घोराही उपमहानगरमा रहेका सिमसार क्षेत्र जोगाउन, आकाशको पानी सञ्चित गर्न र सिँचाइ सुुविधा पुु¥याउन अति आवश्यक रहेका स्थानमा खोलाबाट बगेर यत्तिकै खेर गएको पानीलाई ड्यामका रूपमा विकास गरी जलाशय निर्माण गरिएको छ । करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएको जनाइएको छ । घोराही उपमहानगरपालिकामा अभियानकै रूपमा २०७४ सालदेखि जलाशय निर्माण सुरु गरिएको थियो । आठ वर्षको अवधिमा घोराहीमा ४३ वटा जलाशय निर्माण भएका छन् । घोराही उपमहानगरपालिका–११ का वडाध्यक्ष कुलबहादुर लामिछानेका अनुसार बाँसगजेरी सिरुगैरामा जलाशय निर्माणपछि त्यस क्षेत्रमा कृषिकर्म गरिहेका किसानलाई सहज भएको छ । तुलसीपुर–१८ को दुधेगजेरीमा जलाशय निर्माणपछि दुधरास क्षेत्रको खेतीयोग्य जग्गामा हिउँदयाममा समेत खेतीपाती लाग्न थालेको स्थानीय खिमबहादुर डाँगी बताउनुहुन्छ । डाँगी भन्नुहुन्छ, “जलाशय त हाम्रा लागि वरदानजस्तै साबित भयो, बर्खामा त धान उत्पादन हुन्छ नै हिउँदमा समेत तोरी, गहुँ राम्रै उत्पादन हुन थालेको छ ।”
जलाशयको सुरक्षा
निर्माण गरिएका जलाशयको बहुुउपयोगितासँगै दिगो व्यवस्थापन र सुरक्षाका लागि थप बजेट आवश्यक पर्छ । घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलका अनुसार बनिसकेका जलाशयको स्तरवृद्धि र अब बन्ने जलाशयका लागि वडा, प्रदेश र सङ्घसँग समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ । घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी भन्नुहुन्छ, “सुक्खा हुँदै गएको घोराहीलाई जोगाउन, सिँचाइ सुविधा बाह्रैमास पु-याउन, व्यावसायिक पर्यटन, माछापालनका लागि हामीले कृत्रिम जलाशय निर्माण गरेका हौँ ।”
घोराही उपमहानगरपालिकाको दोस्रो कार्यकाल समालिरहेका प्रमुख नरुलाल भन्नुहुन्छ, “मुख्य कुरा जलवायु अनुकूलनकै लागि हो भन्दा हुन्छ । पानीको स्रोत व्यवस्थापन, बर्सातको पानी सञ्चित गर्ने, दिगो रूपमा बहुउपयोगमा लगाउने, जसका माध्यमबाट सिँचाइ, पर्यटन, कृषि र वातावरण संरक्षणमा सहयोग पुगोस् भन्ने नै हो ।”