• १७ फागुन २०८१, शनिबार

‘डाल दउरा’ मा तीव्र कुद्छन् मुसनीका औँला

blog

विवाहका लागि डाल दउरा बनाउँदै मुसनीदेवी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, फागुन १७ गते । ‘डाल दउरा’ बनाउँदै आएकी मुसनीदेवी डोम अहिले ७४ वर्षको हुनुभयो । बाल्यावस्थादेखि नै बाँसजन्य सामग्री बनाउँदै आउनुभएकी मुसनीलाई यतिखेर विवाहको लगनले छोएको छ । विवाहको लगनका कारण उहाँलाई डाल दउरा (विभिन्न रङले सजाइएका बाँसको ढाकी) बनाउन भ्याइनभ्याइ छ । 

जीवनको उत्तराद्र्धमा आइपुग्दा पनि मुसनीदेवीको सामग्री बनाउने उहाँका हातका औँलाको रफ्तार देखेर जोकोही छक्क पर्छन् । यस्तै सामग्रीबाट उहाँको गाँस, बास र कपास जुट्दै आएको छ । युवा अवस्थादेखि नै तेज गतिमा बाँसजन्य सामग्री बनाउन सक्ने उहाँ भन्नुहुन्छ, “विवाह गर्ने दुलहादुलहीभन्दा बढी म लगनको दिन गन्ती गरिरहन्छु । विवाहको लगनले भ्याइनभ्याइ हुन्छ ।” 

विवाहमा दुलहादुलही पक्षमा अनेकन् विधि र सामग्री दिने परम्परा रहेको र त्यसका लागि डाल दउरामा राखेर लैजानुपर्ने पारम्परिक चलन रहेको बताउनुभयो ।  डाल दउरा बनाउन जान्ने सिप प्रायः डोम (मरिक) सँग मात्र हुने गरेकाले विवाहको मिति तय भएपछि डाल दउराका लागि मरिक (डोम) समुदायलाई नै अर्डर गर्नुपर्ने हुन्छ । एउटै लगनमा धेरै जनाको विवाह भइरहने हुँदा मुसनीलाई वृद्धावस्थामा पनि युवावस्था जस्तै मेहनत गर्नु परेको छ । 

एउटा डाल दउरा बनाउन तीन/चार दिन मेहनत गरेर खटिनु पर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “डाल दउरा बनाएर रङ्गरोगन गरेर सुकाएर दुलहाको घरमै पु-याउनु पर्छ । दुलहाको घर पु-याउँदासम्म डाल दउरा अछुतो हुने गर्दछ । त्यहाँ पु-याएपछि पानी छर्केर घर भिœयाइसकेपछि त्यो शुद्ध र पवित्र मानिन्छ ।” शुभविवाहमा दुलहीलाई सौभाग्यसूत्रसहित डाल दउरा चढाइन्छ ।

आकार र प्रकार अनुसार प्रतिडाल दउरा दुई हजारदेखि पाँच हजार रुपियाँसम्ममा बिक्री हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “विवाहको सिजनभरिमा एक सयभन्दा बढी डाल दउरा बिक्री गर्छु । बाँस खरिदको मूल्य, रङरोगन खर्च कटाएर करिब आधा रकम कमाइ हुन्छ ।”

अहिले सहरबजारका विवाहमा धेरैले डाल दउराको सट्टा  किस्ती वा सुटकेसमा विवाह सामग्री राखेर नै दिने गरेको चलन बढ्दै गएकाले सहरबाट माग आउन छोडेको उहाँको गुनासो छ । 

धनुषाको सबैला नगरपालिका–१ स्थित सडक छेउको ऐलानी जग्गामा बसोबास गरिरहेका मुसनीका पति करिब ३० वर्षअघि बितेपछि एक्लो छोरा, बुहारी नातिहरूको लालनपालनको जिम्मेवारी उहाँले नै समाल्दै आउनुभएको छ । बाँसजन्य सामग्री बनाउने सिप परिवारका सबै सदस्यसँग भए पनि मुसनी र उहाँका छोराबाहेक अन्यले खासै परम्परागत पेसाका रूपमा अपनाएका छैनन् । उहाँका दुई नाति वैदेशिक रोजगारमा छन्  भने दुई नाति र बुहारी स्थानीयस्तरमा रहेको कार्यालयमा कार्यरत छन् ।