• १७ फागुन २०८१, शनिबार

पाथीभरा क्षेत्रको सवारी पार्किङ निर्माण कार्य अन्तिम चरणमा

blog

ताप्लेजुङको पाथीभरास्थित काफ्लेपाटी क्षेत्रमा अस्थायी सवारी पार्किङ निर्माण गरिँदै । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङ्लिङ, फागुन १७ गते ।
ताप्लेजुङको पाथीभरास्थित काफ्लेपाटी क्षेत्रमा अस्थायी सवारी पार्किङ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी अस्थायी सवारी पार्किङको निर्माण कार्यलाई तीव्रता दिइएको हो ।

पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीको सवारी साधन पार्किङका लागि पाथीभरा क्षेत्र विकास समितिले गत आर्थिक वर्षदेखि पार्किङ निर्माणको कार्य सुरु गरेको थियो ।  समितिले चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट विनियोजन गरी ढुङ्गाको सोलिङ लगाउने कार्य जारी राखेको छ ।

वर्षायामको समयमा समेत सहज ढङ्गले सवारी पार्किङको व्यवस्था गर्नका लागि ढुङ्गाको सोलिङ लगाइएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा ५० लाख रुपियाँ लगानी गरिएको छ । मेसिनरी वाल लगाउने तथा सम्याउने कार्यमा उक्त रकम खर्चिएको कार्यकारी निर्देशक हाङबाङको भनाइ छ । अबको केही महिनाभित्रै सो क्षेत्रमा पार्किङ गर्न सकिने गरी निर्माणको कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । करिब एक सय वटा सवारी साधन अटाउने क्षमताको संरचना तयार भइरहेको छ । 

यस्तै, आगामी आर्थिक वर्षको बजेटमार्फत शौचालय तथा प्रतीक्षालय निर्माण गर्ने समितिको योजना रहेको छ । पार्किङ सञ्चालनमा आएपछि दर्शनार्थीका लागि प्रतीक्षालय तथा शौचालय समेत आवश्यक पर्ने हुँदा समितिले योजना अघि सारेको हाङबाङले जानकारी दिनुभयो ।

हाल पाथीभरा दर्शनका लागि प्रमुख सिजनमा दैनिक हजारौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् ।

जहाँ सयौँ गाडीहरू साँघुरो सडकको दायाबायाँमा जथाभावी रुपमा पार्किङ गरेर राख्नु पर्ने बाध्यता रहेको छ । पार्किङ निर्माण सम्पन्न भएपछि यस्ता बाध्यता मुक्त हुने समितिको विश्वास रहेको छ ।