• १६ फागुन २०८१, शुक्रबार

इन्दुशङ्करद्वारा उखु किसानको एक अर्ब ३७ करोड भुक्तानी

blog

इन्दुशङ्कर चिनी उद्योग हरिवनमा उखु बोकेर आएका ट्याक्टर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन १६ गते ।
सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले उखुु किसानलाई एक अर्ब ३७ करोडभन्दा बढी भुक्तानी दिएको छ ।उद्योगले चालु सिजनमा किसानलाई उखुु खरिदबापतको एक अर्ब ३७ करोड तीन लाख रुपियाँ भुक्तानी गरेको हो ।

किसानले अघिल्लो हप्ता अर्थात् फागुन ७ गतेसम्म उद्योगमा ल्याएर बिक्री गरेको सम्पूर्ण उखुको रकम बैंक खातामा पठाइसकिएको उद्योगका प्रशासकीय प्रबन्धक ठाकुरप्रसाद नेपालले जानकारी दिनुुभयो ।

इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष किसानलाई एक हप्ताभित्रैमा उखुको भुक्तानी दिइरहेको छ । गएको मङ्सिर २७ गतेदेखि सञ्चालनमा आएको उद्योगले फागुन १४ गतेसम्ममा २६ लाख ५१ हजार ४०० क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले बताउनुुभएको छ ।

उखु प्रबन्धक रजकका अनुसार यही फागुन मसान्तसम्म उखु क्रसिङ गरेर मिल बन्द गर्ने तयारी छ । उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

उखु खेती घटेकाले यो वर्ष प्रत्येक चिनी उद्योगले किसानसँग हानाथप गरेर उखु खरिद गरिरहेका छन् । उखु कम उत्पादन भएकाले चिनी मिलले किसानलाई कुनै आलटाल नगरी बेलैमा भुक्तानी दिइरहेका हुन् ।

सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनले बेलैमा भुक्तानी दिने गरेको उखु किसानले बताउने गरेका छन् । जिल्लाको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग बगदह र धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले पनि अघिल्ला वर्षमा झैँ भुक्तानीमा झन्झट नदिएका किसानको भनाइ छ ।

सरकारले निर्धारण गरेको मूल्य अनुसार चिनी उद्योगले किसानलाई उखुको प्रतिक्विन्टल ५८५ रुपियाँका दरले भुक्तानी गरिरहेका छन् । उक्त रकममा सरकारले अनुदानबापत ७० रुपियाँ थप गरेर दिने छ । 

चिनी मिलले धमाधम भुक्तानी दिए पनि सरकारले दिने ७० रुपियाँ अनुदान रकम कहिले पाउने भन्ने अन्यौलता नै रहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुुभयो ।