गाजा सिटी, फागुन १५ गते । हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ । जनवरी १९ मा लागु भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमतिअन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो ।
सम्झौताको पहिलो चरणअन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई मुक्त गरेको छ भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेको छ । यसको बदलामा इजरायलले महिला र नाबालिकसहित करिब एक हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सहमति भएको थियो ।
प्यालेस्टाइनी प्रिजनर्स क्लब एड्भोकेसी ग्रुपका अनुसार बुधबार राति फिर्ता गरिएका चार बन्धकको अवशेषको बदलामा इजरायलले बिहीबार ५९६ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ भने युद्ध सुरु भएपछि पक्राउ परेका गाजाका सबै महिला र नावालिक गरी ४६ जना कैदीलाई रिहा गर्न बाँकी रहेको बताइएको छ ।
बिहीबार बिहान सयौं कैदीहरूलाई रिहा गरिएको गाजा र वेस्ट बैङ्कमा उपलब्ध एएफपीका सञ्चारकर्मीले जनाएका छन् । इजिप्टको राज्यसम्बद्ध अल–काहेरा न्यूजले इजरायली अधिकारीहरूले फिर्ता गर्नका लागि तोकिएकामध्ये ९७ जना गाजाको राफा सीमा पार गर्ने इजिप्टतर्फ आइपुगेको बताइएको छ ।
युद्धको स्थायी अन्त्यका लागि तय गरिएको सम्झौताको दोस्रो चरणका लागि वार्ता अझै सुरु हुन सकेको छैन ।
“हामीले दुश्मनको झूटो औचित्यको अगाडिको बाटो सफा गरेका छौँ र दोस्रो चरणका लागि वार्ता सुरु गर्नुबाहेक उसको कुनै विकल्प छैन,” हमासले टेलिग्राममा भनेको छ ।
बिहीबार रिहा भएका प्यालेस्टाइनी कैदीहरूलाई सप्ताहन्तमा रिहा गर्ने भनिएको थियो, तर सन् २०२३ अक्टोबर ७ मा भएको आकस्मिक र अकल्पनीय आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई सुपुर्दगी गर्न हमासले आयोजना गर्दै आएको भव्य समारोहलाई लिएर आक्रोश भएपछि इजरायलले यो प्रक्रिया रोकेको थियो ।
यसअघि हमासले चारै जना इजरायली शवलाई गोप्य रूपमा फिर्ता गरिने बताएको थियो । कफिन हस्तान्तरण गरिएको केही घण्टापछि गाजाबाट बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने पक्षमा वकालत गर्ने इजरायली समूहले बिहीबार हमासले फिर्ता गरेका चार शवको पहिचान ‘गहिरो दुःखका साथ’ पुष्टि गरेको छ ।
ओहाद याहलोमी, साची इदान, इट्जिक एल्गाराट र श्लोमो मन्सुरलाई अन्ततः इजरायलमा ल्याइएको र आवश्यक प्रक्रियापछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने बन्धक तथा बेपत्ता परिवार मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘वार्ता सुरू हुन्छ’
वासिङ्टनमा मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च दूतले इजरायली प्रतिनिधि युद्धविरामको अर्को चरणका लागि वार्ताका लागि तयार रहेको बताएका छन् ।
“हामीले धेरै प्रगति गरिरहेका छौं । इजरायलले अहिले एउटा टोली पठाउँदैछ,” स्टिभ विटकोफले अमेरिकी यहूदी समितिका लागि आयोजित एक कार्यक्रममा भन्नुभयो । “यो दोहा वा कायरोमा हुनेछ र इजिप्ट र कतारका अधिकारीहरूसँग फेरि वार्ता सुरु हुनेछ ।
दोस्रो चरणको वार्ताको बारेमा विटकोफको टिप्पणीबारे इजरायलले प्रतिक्रिया दिइसकेको छैन । लडाकूहरूले अझै पनि कब्जामा राखेका दर्जनौं बन्धकहरूको रिहाई पनि गर्नुपर्नेछ । युद्धविरामका बावजुद गाजामा छिटपुट हिंसाका घटना भने भएका छन् ।
इजरायली सेनाले बुधबार त्यहाँबाट क्षेप्यास्त्र प्रहार भएपछि विभिन्न प्रक्षेपण स्थलमा हवाई आक्रमण गरेको जनाएको छ । रासस/एएफपी