• १५ फागुन २०८१, बिहिबार

गोरखामा पहाड फिल्मको छायाङ्कन

blog

गुणबहादुर रोका

सुलीकोट, फागुन १५ गते । गोरखामा चलचित्र पहाडको छायाङ्कन धमाधम भइरहेको छ । गोरखा नगरपालिका–४ स्थित भिमसेन थापाको जन्मस्थल पीपलथोकमा अहिले छायाङ्कन भइरहेको प्रोडक्सन मेनेजर अरुण रेग्मीले जानकारी दिनुभयो । 

रित्तिदै गरेको पहाडको विषयवस्तुलाई समेटेर बन्न लागेको चलचित्र पहाडको गत माघ २२ गते शुभमुहूर्त भए तापनि निर्देशक तुलसी घिमिरेलाई स्वास्थ्यमा समस्या देखिएपछि झण्डै त्यसको ३ हप्तापछि फागुन ९ गतेदेखि गोरखाको पीपलथोक, ताप्ले र भीमसेन पार्कमा छायाङ्कन भइरहेको छ । 

अहिले युवा जनशक्ति विदेश पलायन हुदाँ खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई जस्ताको तस्तै चलचित्र पहाडको कथावस्तु उतारिने पहाड चलचित्रका निर्देशक तुलसी घिमिरले बताउनुभयो । 

पहाड चलचित्रका लागि आवश्यक पर्ने पहाडी गाउँबस्ती जस्तो देखिने भौतिक पूर्वाधार निर्माण गरी चलचित्र छायाङ्कन गरिएको छ । ‘८० प्रतिशत छायाङ्कन गोरखा र बाँकी २० प्रतिशत काठमाडौं र मुम्बाइमा हुन्छ, निर्देशक घिमिरले भन्नुभयो, “गोरखामा एकदेखि डेढ महिनासम्म पहाड चलचित्रको छायाङ्कन हुनेछ ।”

चलचित्र पहाडमा वरिष्ठ हास्यव्यङ्ग्य अभिनेता मदककृष्ण श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, रबिन्द्रसिंह बाँनिया, प्रियङ्का कार्की, अरुण क्षेत्री र पञ्चमी घिमिरेलगायतका कलाकारहरुको अभिनय छ । 

यो चलचित्रले युवा जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रित्तिन्छ यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु चित्रण गर्नुका साथै युवाहरु आफ्नै थातथलोमा पर्खनुपर्ने सन्देश दिन खोजेको प्रोडक्सन मेनेजर रेग्मीले बताउनुभयो ।