• १५ फागुन २०८१, बिहिबार

प्रेम सम्बन्धकै कारण युवकको हत्या

blog

शहीद अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेकोबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रहरी उपरीक्षक भूवनेश्वर तिवारी । तस्बिर : न्यूज एजेन्सी नेपाल

जनकपुरधाम, फागुन १५ गते । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको पुष्टि भएको छ ।

अनुसन्धानमा अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको खुलेको छ ।

कतारमा कार्यरत अन्सारी र अनिताबिच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले श्रीमती बिरामी रहेको बहाना बनाई अन्सारीलाई नेपाल बोलाएकी थिइन् । २०८१ मङ्सिर २७ गते अनिता र उनका श्रीमानले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताउनुभयो ।

हत्यापछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो । माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो । 

अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्यापछि साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताउनुभयो । उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।