• १५ फागुन २०८१, बिहिबार

मरिसस र ला रेयुनियन खतरनाक चक्रवातका लागि उच्च सतर्कतामा

blog

फाइल तस्बिर

पोर्ट लुइस (मरिसस), फागुन १५ गते । हिन्द महासागरका द्वीपहरू मरिसस र ला रेयुनियन बिहीबार एक तीव्र उष्णकटिबन्धीय आँधी, चक्रवात गारान्सका लागि उच्च सतर्कतामा थिए । यसलाई पर्यटकीय गन्तव्यहरूका लागि ‘प्रत्यक्ष खतरा’ भनिएको थियो ।

मरिससले बुधबार आफ्नो मुख्य विमानस्थल बन्द गर्‍यो भने नजिकैको फ्रान्सेली द्वीप ला रेयुनियनले बिहीबार त्यसै गर्ने तयारी गरेको थियो । गारान्सलाई मरिससद्वारा वर्ग ३ चक्रवातको रूपमा वर्गीकृत गरिएको थियो । यो दोस्रो–उच्चतम सतर्कता स्तर हो । मरिससमा प्रति घण्टा ७० किलोमिटरसम्मको हावाहुरी आउने अपेक्षा गरिएको थियो ।

मरिसस मौसम विज्ञान सेवाले चक्रवात द्वीपको ३१० किमी उत्तरपश्चिममा थियो र ‘तीव्र उष्णकटिबन्धीय आँधी’ बनेको बताएको छ ।

चक्रवात ‘खतरनाक रूपमा मरिससको नजिक आइरहेको छ र प्रत्यक्ष खतरा देखिन्छ”, बाढी आउने अपेक्षा गरिएको उल्लेख गर्दै मौसम विज्ञान सेवाले भनेको छ ।

गारान्स पूर्वतर्फ जाँदै थियो तर मरिसस र ला रेयुनियनको बिचबाट जानका लागि दक्षिणतर्फ घुमेको छ । सरकारी प्रतिनिधिले ‘रातो सतर्कता’ घोषणा गरिने र बिहीबार विमानस्थल बन्द हुने बताएका थिए ।

यसको वर्तमान गतिमा चक्रवात बिहीबार साँझ र शुक्रबार बिहानको बीचमा ला रेयुनियनको ५० किमी भित्रबाट गुज्रिने अपेक्षा गरिएको बताइएको थियो ।

मेटेओ–फ्रान्सले रेयुनियनमा अझै पनि ‘प्रत्यक्ष प्रभाव’ पर्न सक्ने चेतावनी दिएको थियो र पहिले नै द्वीपको सबैभन्दा उच्च विन्दुहरूमा प्रति घण्टा १५० किलोमिटरभन्दा बढीको हावाहुरी, भारी वर्षा र अशान्त समुद्रको चेतावनी दिएको थियो ।

रातो सतर्कताले जनसङ्ख्यालाई घरभित्रै बस्न आवश्यक पर्नेछ र केवल आपत्कालीन सेवाहरू मात्र द्वीपभर घुम्न सक्नेछन् । बुधबार दिउँसोदेखि नै विद्यालयहरू बन्द गरिएका थिए । एयर मरिससले ‘थप सूचना नआएसम्म’ सबै उडानहरू स्थगित गरिएको बताएको छ । रासस/एएफपी