काठमाडौँ, फागुन १५ गते । नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् यही फागुन २१ र २२ गते हुने भएको छ ।
भक्तपुरमा हुने परिषद्को उद्घाटन समारोहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रय समितिको उपाध्यक्ष तथा प्रचार प्रसार विभागका संयोजक राधिका कुइंकेल खनालले बताउनुभएको छ ।
परिषदको बन्द सत्रमा देशभरिका चार सयभन्दा बढीको सहभागिता रहने छ ।
परिषद्ले सङ्गठन विस्तार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन, श्रम ऐन संशोधन र प्रभावकारी कार्यान्वयन, श्रमिक पञ्जिकरण, न्यूनतम पारिश्रमिक लागु, मर्यादित रोजगारी सिर्जना, जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव, सामाजिक संवाद, आधिकारिक ट्रेड युनियनको निर्वाचन, आइएलओ महासन्धिहरूको अनुमोदन, सुरक्षित कार्यस्थल र ट्रेड युनियन अधिकारको ग्यारेन्टी लगायतका विषयहरूमा बृहत् छलफल गर्ने जनाइएको छ ।
यसैगरी, सशक्त ट्रेड युनियन आन्दोलनको कार्यदिशा निर्माण गर्ने विश्वास लिएको छ । परिषद् सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी काम अगाडि बढिरहेकाले तयारी अन्तिम चरणमा पुगेको परिषद् तयारी समितिका संयोजक एवम् वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले जानकारी दिनुभयो ।