काठमाडौँ, फागुन १४ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा. देउवाले बुधबार साइडलाइन भेटवार्ता गर्नुभएको हो ।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा. देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवम् पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल प्रतिबद्ध रही आएको बताउनुभयो ।
उहाँले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको थियो ।
मन्त्री डा. देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
उक्त भेटमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धी सम्झौता महाशाखा प्रमुख राजेन्द्र थापालगायत हुनुहुन्थ्यो ।