• १४ फागुन २०८१, बुधबार

सडक भत्काइयो बनाउन चासो भएन

blog

तानसेन समाचारदाता

तानसेन, फागुन १४ गते । स्तरोन्नतिका लागि सडक भत्काएर छाड्ने प्रवृत्ति बढ्दा सर्वसाधारणले सास्ती बेहोर्न परेको छ । तानसेन–हार्थोक–छहरा सडक, बाँसटारी–झडेवा सडक र आर्यभन्ज्याङ–रामपुर सडकखण्डको ओटासिल प्रविधिबाट बनाइएको सडक उप्काएर त्यसै छाडिएको छ । 

सडक स्तरोन्नति गर्ने नाममा कालोपत्रे सडक भत्काउँदा हिउँदमा धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ । चार वर्षअघि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट तानसेन–हार्थोक–छहरा सडक स्तरोन्नति गर्न १० किलोमिटर सडक चौडा गरिएको थियो । उक्त सडकखण्ड अहिले हिँड्नै नसक्ने गरी नाजुक बनेको छ । 

सडक विस्तार गर्ने नाममा तीन मिटर चौडामा लगाइएको कालोपत्रे भत्काएर सडकको अवस्था झन् नाजुक बनेको रैनादेवी छहरा–४ का शङ्कर रायमाझीले गुनासो गर्नुभयो । सडक बनाउन भएको कालोपत्रे भत्काएर त्यसै छाड्दा पाल्पाको पश्चिम भेग, गुल्मी र अर्घाखाँची जाने यात्रुले सास्ती बेहोर्न बाध्य भएको उहाँले सुनाउनुभयो । 

उक्त सडक निर्माणका लागि बजेट परेको प्रचार भए पनि चार वर्षसम्म काम हुन नसकेको स्थानीयको गुनासो छ । यो सडकखण्डलाई लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा राखेको छ । प्रदेश सरकारले गौरवको आयोजना अन्तर्गत रामपुर–कपुरकोट सडकखण्डका लागि बजेट विनियोजन गरे पनि पर्याप्त बजेट नहुँदा काम हुन नसकेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । 

उता जिल्लाको पूर्वी भेगमा जाने सडक पनि अलपत्र छ । प्रदेश सरकारकै रामपुर–कपुरकोट योजना अन्तर्गत आर्यभन्ज्याङ–रामपुर खण्डमा काम भए पनि सडक विस्तार गर्ने कामबाहेक अरू काम हुन सकेको छैन । यस क्षेत्रमा पनि कालोपत्रे सडक भत्काएर सडक चौडा गरिएको छ भने ‘ग्याबिन वाल’ उठाइएको छ । कालोपत्रेको काम हुन सकेको छैन । सडक निर्माण गर्दा भत्काएर छाड्दा हिँड्न धेरै गाह्रो भएको रम्भा–५, ताहुँका विनोदकुमार श्रेष्ठले बताउनुभयो । सडक पूर्वाधार कार्यालय पाल्पाले सडक भत्काउने काममा मात्रै ध्यान दिएको र कालोपत्रेको काम तीन वर्षमा पनि हुन नसकेको उहाँले गुनासो गर्नुभयो । 

सडक भत्काउँदा एकै वर्षभित्र कालोपत्रे गर्ने गरी काम हुनुपर्ने उहाँको भनाइ छ । यस्तै बाँसटारी–झडेवा सडकखण्डको सालघारी क्षेत्रमा समेत सडक भत्काएर छाडिएको छ । सडक कालोपत्रे गर्न भन्दै डेढ महिनाअघि भत्काइएको ओटासिल सडक अलपत्र छाडिएको छ । सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख वासुदेव भण्डारीले भने सडक निर्माण गर्न भत्काइएको सडक निर्माण व्यवसायीले समयमै काम नगर्दा धुलो र हिलोबाट यात्रु प्रभावित बनेका बताउनुभयो ।