सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, फागुन १४ गते । चौतारा अस्पताल गुणस्तर सुधार न्यूनतम मापदण्ड कार्यान्वयनमा ९३ अङ्क प्राप्त गरी बागमती प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले चौतारा अस्पतालको अनुगमनपछि उक्त नम्बर दिँदै प्रदेश भरकै उत्कृष्ट घोषित गरेको हो । अस्पतालले सेकेन्डरी ‘ए’ लेबलको अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयन एमएसएसको सूचकाङ्क अनुसार १०० प्रतिशतमा ९३ प्रतिशत ल्याउन सफल भएको थियो ।
निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमनका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट नवीन दर्नालसहितको समितिले अनुगमन गर्दा अस्पतालको सेवामा उल्लेख्य सुधार रहेको र सेवा प्रवाह मापदण्ड कार्यान्वयनमा उत्कृष्ट रहेको पाइएको हो । अस्पतालले गर्ने नियमित काम उपचारलगायतको विषयमा अध्ययन अनुगमनका आधारमा चौतारा अस्पताल उत्कृष्ट घोषित भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । सेवा प्रवाहलाई कमजोर हुन नदिन उहाँले अनुरोध गर्नुभयो । अस्पतालको नियमित बैठक, दैनिक बिहानी छलफल, विद्युतीय हाजिर अनिवार्य, बिरामीको लागि टोकनको व्यवस्था, सूचनापाटीमा सूचना टाँस गर्ने, अस्पतालको आफ्नै वेबसाइट निर्माण, सिसिटिभी क्यामराको जडान, सुरक्षा गार्डलगायतको पक्षमा अध्ययन गरेको थियो ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीले नियमित सेवामा जनरल ओपिडी सेवा, हाडजोर्नी, दन्त सेवा, सर्ने÷नसर्ने रोगको सेवा, प्रसूति सेवालगायतका उपचार दिँदै आएको बताउनुभयो । सुरुमा १५ शøयाको अस्पताल प्रादेशिक अस्पताल भएसँगै बागमती प्रदेश सरकार मन्त्रीपरिषद् तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० शøयाको भएको थियो । अहिले सो अस्पतालले ६२ शøयाबाट सेवा दिँदै आएको छ । साथै केही समयअगाडिबाट डायलासिस सेवा पनि उपलब्ध गराउँदै आएको छ । अस्पतालले क्षयरोगको औषधी वितरण, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा एकाइ, स्वास्थ्य बिमा सेवा लिने स्थान, पालो कुर्ने स्थानलगायतका प्रबन्ध गरेको छ । महिनामा करिब तीन हजार जना बिरामीले ओपिडी सेवा लिने गरेको तथ्याङ्क छ । विशेषज्ञ डाक्टरसहित ६३ जनाको दरबन्दी रहेको अस्पतालमा हाल १६ जनाडाक्टर कार्यरत रहेका छन् ।
दरबन्दी पूर्ति भएमा अस्पतालबाट उपलब्ध हुने सेवा थप सुधार हुने अस्पतालका अध्यक्ष केशवराज गिरीले जानकारी दिनुभयो । अस्पतालले प्रभावकारी उपचार सेवा दिँदै आएको दाबी गरे पनि बिरामीहरू धुलिखेल, बनेपा तथा राजधानीका अस्पताल धाइरहेका छन् । सामान्य उपचारपछि थप सेवाको लागि बिरामीलाई अस्पतालले राजधानी रेफर गर्दै आइरहेको छ । प्रभावकारी उपचार सेवा प्रदान गर्न सरोकारवालाले आग्रह गरेका छन् ।