• १४ फागुन २०८१, बुधबार

घिसिङलाई सोधियो पुनः स्पष्टीकरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । गत पुसमा सोधिएका दुई फरकखाले स्पष्टीकरणको चित्त बुझ्दो नआएको भन्दै अहिले तेस्रो पटक भ्रमण अनुमतिको विषयमा स्पष्टीकरण सोधिएको हो ।

घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकमार्फत  निर्णय गरी कार्यकारी निर्देशकबाट हटाउने चर्चा चलेको थियो । लगत्तै यसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको असहमति सार्वजनिक भएको थियो । ऊर्जामन्त्रीको सचिवालयका अनुसार सोमबार मन्त्रीपरिषद्को बैठकमा यो विषयले प्रवेश नपाएपछि मङ्गलबार ऊर्जामन्त्रीस्तरीय निर्णयमार्फत  मन्त्रालयले स्पष्टीकरण सोधिएको हो । यसअघि ऊर्जा मन्त्रालयले घिसिङलाई असोजमा प्राधिकरणका विभिन्न ठेक्कापट्टा तथा सरुवा विवरण माग गर्दै १५ बुँदामा जानकारी माग गरिएको थियो । 

गत पुस २२ मा पनि मन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोधेको थियो । यस पटक भने देशभित्रै तथा विदेश जाँदा कोसँग अनुमति मागिएको भन्ने विषयमा २४ घन्टे स्पष्टीकरण सोधिएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।