फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १३ गते । कास्कीको पोखरा महानगरको वडा नम्बर १८ सराङकोटमा पञ्चमुखी गणेशको मूर्ती, शिव मन्दिर लगायतका संरचना तयार भएका छन् । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले करिब १२ करोड लागतमा शिव मन्दिर बनाएको हो ।
करिब ८६ रोपनीको क्षेत्रभित्र नेपालकै पहिलो पञ्चमुखी गणेशको ५१ फिटको मूर्तिसमेत तयार भइसकेको छ । मूर्ती ११ करोड लागतमा तयार भएको हो । सँगसँगै १०८ शिवलिङ, १०८ धारा, भ्युटावर, बहुउद्देश्यीय भवन, भूमे कालिका र स्वागतद्वार बनेको छ । समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सराङकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना मुताबिक काम भइरहेको जानकारी दिनुभयो ।
“अहिलेसम्म यी संरचना निर्माणमा हालसम्म ३५ करोड खर्च भइसकेको छ,” उहाँले भन्नुभयो, “गुरुयोजना बमोजिमका अरू संरचना बनाउन थप २१ करोड खर्च हुने अनुमान छ ।” धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमाल, पोखरा उपत्यका, सूर्याेदय र सूर्यास्त अवलोकन गर्ने गन्तव्य बनेको सराङकोटलाई प्रवर्धन गर्न योजनाबद्ध विकास थालिएको हो ।
यही फागुन १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले सराङकोट धाममा बनेका पञ्चमुखी गणेशको मुर्ति, शिव मन्दिर लगायतका संरचना उद्घाटन गर्ने तय छ । पोखरा उपत्यकाबाट सहज सडक पहुँच रहेको सराङकोटसम्म अहिले केबुलकारबाट समेत जान मिल्छ ।
सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायरसमेत हुँदै आएको छ । यहाँ यही फागुन १४ गतेबाट श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव हुँदै छ । यहाँ बालउद्यान, योग ध्यान केन्द्रसहित दृष्य अवलोकनका लागि सिसाको आकासे पुलसमेत बनाउने योजना रहेको समितिका प्रचार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।
काकीकोटका राजा कुलमण्डन शाहको सैनिक केन्द्र, खरखजना राख्ने स्थान, राजदरबारको मूल देवीको मन्दिर रहेको स्थानसमेत हो । यहाँ २६ प्रजातिका लालीगुराँसको बगैँचा निर्माण र संरक्षण गर्ने योजनासमेत अघि सारिएको छ । सराङकोट धामभित्र हनुमान र बुद्धको मूर्तीसमेत बनाइने गुरुयोजनामा उल्लेख छ ।