तिलाचन पाण्डे
तम्घास, फागुन १३ गते । मगर दिवसका अवसरमा फागुन १५ गते गुल्मीका सात स्थानीय तहले सार्वजनिक बिदा दिने भएको छ । दुई नगरसहित १२ स्थानीय तह रहेको गुल्मीमा सात वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको रेसुंगा नगपालिका, चन्द्रकोट, कालीगण्डकी, सत्यवती, गुल्मीदरबार, मालिका र छत्रकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।
फागुन ११ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उक्त दिन गाउँपालिकासहित वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत सङ्घ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । विभिन्न जातजातीहरुको मौलिकता, संस्कृतिलाई संरक्षण गर्नु पालिकाको दायित्व भएको स्थानीय तहहरुले जनाएका छन् ।
यता रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्थानीय सरकार जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । दिवसहरु मनाउनु राम्रो विषय भएको बताउँदै यसमा पालिका सधैँ साथमा रहेको उहाँको भनाइ छ । बिदा दिएर भन्दा पनि जनतालाई सेवा प्रवाह गर्दै दिवस मनाउनुपर्ने उहाँको तर्क छ । प्रदेश सरकारले निर्माण कानून अनुसार वर्षमा एक दिन मात्र बिदा दिन सक्ने भएकाले यसलाई आफूहरुले कार्यन्वयन गरेको बताउनुभयो ।