• १३ फागुन २०८१, मङ्गलबार

लुम्बिनी प्रादेशिक अस्पताल प्रथम

blog

बुटवल समाचारदाता 

बुटवल, फागुन १३ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट नतिजा प्राप्त गरी नेपालकै पहिलो बन्न सफल भएको छ । 

अस्पताल यो वर्ष पनि ‘सेकेन्डरी बी लेभल’ मूल्याङ्कनमा देशभरका अस्पतालमध्ये सबैभन्दा बढी ८९ अङ्क प्राप्त गर्दै प्रथम भएको हो । अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा अस्पतालमा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना, जनशक्तिलगायतका विषयमा जानकारी गराइएको थियो भने जनशक्ति अभावको समस्या समाधान गर्न आग्रह गरिएको थियो । 

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले लुम्बिनी प्रदेशकै सेवाग्राहीको ध्यान तान्न सफल भएको यो अस्पतालको सेवा थप विस्तार र विशिष्टीकृत गर्दै लैजान आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट व्यवस्थापन गर्न सहयोग गर्न तयार रहेकोसमेत उल्लेख गर्नुभयो । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय सेवाको गुणस्तर वृद्धिमा सुधार गर्दै लगेको बताउँदै प्रदेश सरकारले समेत स्वास्थ्य सेवामा सुधार ल्याउने गरी काम गरिरहेको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्याङ्कनमा प्राप्त अहिलेको नतिजाले आफूहरूलाई उत्साहित गराएको बताउँदै आगाामी दिनमा थप सुधारका योजनासाथ काम गर्नुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको सेवा विस्तार कार्यक्रम अन्तर्गत ‘गाइनोतर्फ डेडिकेटेड अपरेसन थिएटर’ सञ्चालन, डिजिटल भुक्तानी सेवा, एसएमएसमार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा विस्तार, चौबिसै घण्टा बिमा सेवा कार्यक्रम, सामाजिक सेवा एकाइ सञ्चालन गरी सेवाग्राहीलाई सुविधा पुर्‍याएको बताउनुभयो । 

अस्पतालले एक वर्षमा मात्रै तीन करोड १७ लाख ३६९ रुपियाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको जनाएको छ । अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरिब तथा लक्षित वर्गलाई सामाजिक एकाइबाट सेवा उपलब्ध गराउँदै आएको हो । 

अस्पतालले सेवाग्राहीको सङ्ख्या बढ्दै जाने तर सरकारले उपलब्ध गराउने अनुदान रकम घट्दै जाँदा अस्पताल विकास समितिको सीमित स्रोतसाधनले सामाजिक सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको जनाएको छ । अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० जनाभन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको छ ।