• १३ फागुन २०८१, मङ्गलबार

हुन सकेन तम्घास–छल्दी सडक मर्मत

blog

गुल्मीको जीर्ण बनेको तम्घास–छल्दी सडक । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता 

तम्घास, फागुन १३ गते । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्डका विभिन्न स्थानमा खाडल परेका कारण दुर्घटनाको जोखिम बढेको छ ।

सडकको तम्घासदेखि छल्दीसम्मको नौ किलोमिटर कालोपत्रे गरिएको सडकमा खाडल परेका छन् भने सडकको कालोपत्रे  भत्किएर थप  जोखिम बढ्दै गएको छ । मदन भण्डारी राजमार्गको उक्त सडक हस्तान्तरण हुन सकेको छैन । यसले गर्दा राजमार्ग भएर आउजाउ गर्ने सवारीसाधन तथा यात्रुले दैनिक सास्ती खेप्दै आएका छन् । 

कालोपत्रे सडक भत्किएर बर्सौंसम्म मर्मत नहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएको सवारीधनी देवबहादुर महताराले गुनासो गर्नुभयो । पक्की सडकका घुम्ती भएको स्थानमा जीर्ण सडक बनेकाले सवारीसाधन बचाउन र यात्रुको जिउधनको सुरक्षामा थप जोखिम भएको उहाँको भनाइ छ । कालोपत्रे सडक भत्किएको लामो समय बित्दासमेत सम्बन्धित निकायको ध्यान नजानु दुःखद कुरा रहेको उहाँले बताउनुभयो । 

सडक निर्माणको जिम्मा लिएको कालिका प्यासिफिक कम्पनीले नौ किलोमिटर सडक क्लियर गरेर नदिएकाले सो सडक हस्तान्तरण हुन सकेको छैन । सडक हस्तान्तरण नहुँदा मर्मतसम्भारमा समेत समस्या परेको मदन भण्डारी योजना कार्यालय तम्घासका प्रमुख इन्जिनियर रमेश चौधरीले बताउनुभयो । सडक निर्माणका लागि ३६ करोड ४४ लाखको स्टिमेट गरेर २१ करोड १० लाख ९४ हजारमा निर्माण व्यवसायीले निर्माणको सम्झौता गरेका थिए तर सम्झौता अनुसार काम नसकेपछि दुई पटक थप गरेर अन्तिम म्याद २०७६ चैत २ को दिइएको थियो ।  

सम्झौता रकममध्ये २० करोड ६९ लाख ७० हजार भुक्तानी भइसकेको छ । ठेक्का हस्तान्तरणपूर्व निर्माण व्यवसायीले गर्नुपर्ने मर्मतसम्भारका काम नगरेपछि बाँकी भुक्तानी भने रोकिएको थियो । 

कार्यालयले भुक्तानी रोकेपछि निर्माण व्यवसायीले मुद्दा दर्ता गरेका थिए । निर्माण व्यवसायीले मुद्दा जितेपछि फेरि विभागले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । उच्चले पनि निर्माण व्यवसायीकै पक्षमा फैसला गरेपछि विभागले फेरि सर्वोच्चमा मुद्दा लड्ने तयारी गरेकाले सडक तत्काल मर्मत हुने देखिँदैन । मुद्दाका कारण स्वतन्त्र रूपमा सडकको मर्मतसम्भार गर्न नसकिएको कार्यालयले जनाएको छ । मुद्दाको किनारा लागेपछि मात्रै मर्मतको काम गर्न सकिने चौधरीको भनाइ छ ।