लमजुङ समाचारदाता
लमजुङ, फागुन १३ गते । नेपाली चलचित्रमा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत रूपमा आउन नसकेको र स्वर दबाइने गरिएको गुनासो सरोकारवालाले गर्नुभएको छ । यसको मुख्य जड, जातीय मात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उहाँहरूको निष्कर्ष थियो ।
चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले लमजुङको स्मार्ट गाउँ घलेगाउँमा आयोजना गरेको ‘सिनेमा संवाद’ कार्यक्रममा पहिलो सत्रमा ‘सिनेमामा आदिवासी र सीमान्तकृतको स्वर’ मा निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), निर्माता आशा मगराती, लेखक विकास सुवेदी र प्रस्तुतकर्ता पत्रकार दीपक परियार रहनुभएको थियो । सिनेमामा सङ्गीत : कति मौलिक, कति आधुनिक ? सत्रमा सङ्गीतकार शम्भुजित बाँस्कोटा, वसन्त सापकोटा र प्रकाश सपुत रहनुभएको थियो ।
सो सत्रलाई रिमा विश्वकर्माले सहजीकरण गर्नुभयो । सिनेमा संवादको तेस्रो सत्रमा रहेको रिलदेखि एआईसम्ममा अभिनेतृ करिश्मा मानन्धर, कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने हुनुहुन्थ्यो । उक्त सत्रलाई सुव्रत न्यौपानेले सहजीकरण गर्नुभएको थियो । सिनेमा संवादको अन्तिम सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्र सङ्घका अध्यक्ष समीर बलामी सहभागी हुनुहुन्थ्यो । सो सत्रमा सहजकर्ता पत्रकार अमृत सुवेदीले नेपाली सिनेमाको विकास हुन नसक्नुमा नीति वा नियतबारे प्रश्न गर्नुभएको थियो ।