• १३ फागुन २०८१, मङ्गलबार

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने

blog

दन्त परीक्षणमा चिकित्सकहरु । तस्बिरः साहारा लिम्बु

साहारा लिम्बू 

फुङलिङ, फागुन १२ गते । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । गाउँपालिकाले पालिका भरिका ७० वर्षदेखि माथिका नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्न लागेको हो ।  

गाउँपालिकाले फागुन ७ देखि ११ गतेसम्म प्रत्येक वडामा पुगेर ज्येष्ठ नागरिकको दाँतको नाप तथा आकार लिएको थियो । गाउँपालिकाले पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरी –६ सुनसरीको सहयोगमा ज्येष्ठ नागरिकको दाँतको आकार तथा नाप लिएको पालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक समिर प्रधानले बताउनुभयो । उहाँका अनुसार ५९ जनामध्ये ४१ जनाको पूर्ण रुपमा दाँतको नाप लिइएको छ । 

त्यस्तै बाँकी रहेका १८ जनाको भने आंशिक रुपमा दाँत लगाउनेगरि आकार लिइएको छ । आकार लिइएका ज्येष्ठ नागरिकको दाँत तयार हुन करिब २ साता बढी समय लाग्ने चिकित्सकले बताएको पालिकाले जनाएको छ । सबै नागरिकको आकार अनुसारको दाँत तयार भएपछि तत्काल उपलब्ध गराउने गाउँपालिकाको तयारी रहेको अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) ले जानकारी दिनुभयो ।

जनस्वास्थ्य निरीक्षक प्रधानका अनुसार १ नम्बर वडा निगुरादिनमा १५ जनाको दाँतको नाप लिइएको छ । जसमध्ये १० जनाको पूर्ण रुपमा, ५ जनाको आंशिक रुपमा दाँत लगाउनु पर्नेछ । वडा २ फूलबारीमा ८ जनाको पूर्ण रुपमा र ६ जनाको आंशिक रुपमा दाँत लगाउनेगरि नाप लिइएको छ ।

त्यस्तै वडा नं ३ हाङपाङबाट ११ जनालाई पूर्ण रुपमा र ५ जनलाई आंशिक रुपमा दाँत लगाइदिनेगरि नाप लिइएको छ । वडा नं ४ र ५ चाँगेबाट १२ जनाको पुर्ण रुपमा र २ जनाको आंशिक रुपमा दाँत लगाइदिनेगरि नाप लिइएको निरीक्षक प्रधानको भनाइ छ ।