• १२ फागुन २०८१, सोमबार

घोराहीमा बहुभाषी काव्य उत्सव हुने

blog

लीलाधर वली

घोराही, फागुन १२ गते । दाङमा बहुभाषी काव्य उत्सव हुने भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाले आउने चैत २३ गते बृहत बहुभाषी काव्य उत्सव, काव्यविमर्श तथा स्रष्टा सम्मान कार्यक्रम हुने भएको छ । 

राप्ती साहित्य परिषद् दाङ शाखाको १७ औँ साधारणसभाका अवसरमा बहुभाषी काव्य उत्सव, काव्यविमर्श तथा स्रष्टा सम्मान हुन थालेको हो । काव्य उत्सवमा लोपउन्मुख अवस्थामा रहेको कुसुण्डा भाषाका रचनासँगै कुमाल, अवधि, नेवारी, थारू, मगर, संस्कृत, नेपालीलगायतका भाषाका रचनाहरू प्रस्तुत गरिने राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीले जानकारी दिनुभएको छ । 

नेपाली भाषासँगै विभिन्न भाषाका रचनालाई समेटेर बहुभाषी काव्य उत्सवको आयोजना गर्न थालेको भन्दै अध्यक्ष रेग्मीले भन्नुभयो, "साहित्यिक कार्यक्रमलाई उपलब्धिमुलकसँगै फरक रूपमा बनाउनका लागि बहुभाषिक उत्सव एवं काव्यविमर्श गर्न थालेका छौं ।" 

अहिलेको समय भनेको पहिचानको खोजी गर्ने समय भएकाले लोपउन्मुख कुसुण्डा भाषासँगै कुमाल, अवधि, थारू, मगर, नेवारी भाषाका कवितालाई समेटेर कार्यक्रम गर्न थालिएको अध्यक्ष रेग्मीले बताउनुभयो । 

कार्यक्रमले भाषा साहित्यको संरक्षणसँगै कला,संस्कृतिको संरक्षण र विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमले मातृभाषाका रचनाहरू संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै साहित्यमा लामोसमयदेखि योगदान दिएका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरिने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष रेग्मीले बताउनुभयो ।