• १२ फागुन २०८१, सोमबार

पत्रकारलाई आएको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण

blog

सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै पत्रकार दीर्घराज उपाध्याय । तस्बिर : सामाजिक सञ्जाल

अविनाश चौधरी
धनगढी, फागुन १२ गते ।
कैलालीका पत्रकार दीर्घराज उपाध्यायले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ ।

धनगढी उपमहानगरपालिका र नगर प्रमुखलाई जोडेर समाचार र लेख प्रकाशनपछि आफूलाई धम्की आएको भन्दै उहाँले सुरक्षाको माग गर्दै प्रशासनमा उजुरी दिनुभएको हो । उपाध्यायले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई निवेदन बुझाउनुभएको छ ।

पश्चिम टुडे मिडिया हाउसका सञ्चालकसमेत रहनु भएका उपाध्यायले केही दिन अगाडि ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ शीर्षकमा लेखसहित धनगढी उपमहानगरपालिकासँगै जोडेर आफ्नो सञ्चारमाध्यममा समाचार प्रकाशन गर्नु भएको थियो । 

त्यसयता, नगर प्रमुखको समर्थकबाट पत्रकार उपाध्यायलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत धम्क्याउने, तनाव दिने कार्य भइरहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी हमालले सामाजिक सञ्जालको प्रयोग गरेर पत्रकारलाई धम्क्याउने, मानसिक तनाव दिनेलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

उपाध्यायसँगै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य योगेन्द्र बलायर, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाह, नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा, निवर्तमान अध्यक्ष हिमाल जोशी जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । उहाँहरूले पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।

पत्रकार उपाध्यायले आफूलाई धम्की आएको र मानसिक तनाव दिने कार्य भइरहेको भन्दै नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा पनि निवेदन दिनुभएको छ । 

यसैबिच, नेपाल पत्रकार महासङ्घ प्रदेश समिति र कैलाली शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर समाचार लेखेकै कारण पत्रकारलाई आएको धम्कीप्रति निन्दा गरेका छन् । प्रदेश समितिका महासचिव शिवराज भट्ट र कैलाली शाखा सचिव तेजराज भट्टले ध्यानाकर्षण भएको जनाउँदै छानबिन गरेर घटनाको दोषीलाई कारबाहीको माग गर्नुभएको छ । प्रकाशित समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचारमा जान बाटो खुला रहेको तर धम्क्याउने, मानसिक तनाव दिने, अनर्गल प्रचार गर्ने जस्ता कार्य प्रेस स्वतन्त्रता विरोधी गतिविधि रहेको विज्ञप्तिमा उल्लेख छ ।