• ११ फागुन २०८१, आइतबार

त्रिशूलीमा बेपत्ता रानाको शव नौ दिनपछि फेला

blog

मुग्लिन (चितवन,)  फागुन ११ गते ।  नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । 

लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने वर्ष २७ को रोहित रानाको शव नौ दिनपछि आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार दुर्घटना भएको करिब एक सय मिटर तल नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो । 

रानाको शवलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीबाट उद्धार गरी शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।  निरीक्षक भण्डारीका अनुसार रोहितका परिवारले शव सनाखत गरिसकेका छन् । 

यही फागुन २ गते नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा रोहित सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल सडकमै अडिएको थियो भने रोहित त्रिशूलीमा खसेका थिए । रोहित भारतीय सेनामा कार्यरत थिए । रासस