यादवराज पुरी
रौतहट, फागुन १० गते । बढ्दो आधुनिकतासँगै हराउँदै गएको परम्परागत सिप र सांस्कृतिक महत्त्व बोेकेको ‘दुनो’ र ‘टपरी’ को प्रयोग बढाउन रौतहटको दुई वटा सामुदायिक वनले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
पछिल्लो पुस्तामा सिप हस्तान्तरण हुन नसकेपछि हातबाट बुनेका सालका दुनो टपरी लोप हुँदै गएको अवस्थामा रौतहटको चन्द्रपुर नगरपालिकामा रहेका हालेमालो र जन एकता सामुदायिक वनले आधुनिक यन्त्रको प्रयोग गरी व्यावसायिकरूपमा नै यसको उत्पादन गर्दै आएको छ ।
हिन्दु संस्कारमा सालको पातबाट बनाइने थाल आकारको टपरी र कचौरा आकारको दुनोको परम्परागत महत्त्व छ । विवाह, ब्रतबन्ध, पुजा तथा श्रद्धापूर्वक गरिने कर्मलगायतका धार्मिक तथा शुभ कार्यमा दुनो टपरी अपरिहार्यनै छ । गाउँघरका भोजभतेरमा अझै पनि यसको प्रयोग कतै कतै गरिन्छ । हिन्दु संस्कार तथा घरायसी काममा प्रयोग हुँदै आएको सालका दुनो टपरीको प्रयोगमा कमि आउन ती सामुदायिक वनले गरेको प्रयास उदाहरणीय छ ।
सामुदायिक वन महासङ्घका अध्यक्ष बेदहरी दहाल भन्नुहुन्छ, “प्लास्टिक र कागजजन्य पदार्थको प्रयोग गरी निर्माण गरिएको दुनो टपरीको आकारका वस्तुको प्रयोगले स्वास्थ्य तथा वातावरणमा असर पार्ने हुन्छ, तर सालका पातबाट बनाइएको टपरीको प्रयोग हिन्दु संस्कारमा शुद्ध मानिने, स्वस्थकर र पर्यावरण मैत्री हुने तथा सदस्यको आय आर्जन पनि वृद्धि हुने भएकोले यहाँका सामुदायिक वनले व्यावसायिकरूपमा नै दुनो टपरीको उत्पादनमा जोड दिएका हुन् ।”
हातेमालो र जन एकता सामुदायिक वनले एक÷एक वटा आधुनिक यन्त्र जडान गरेर सालका पातबाट दुनो टपरीको उत्पादन गर्न ३५–४० जना महिला सदस्यलाई रोजगारी दिएको छ । घरको कामधन्दा सकिएपछि गाउँघरमा गफ मारेर समय बिताउने ती महिलाले अहिले दैनिक पाँचदेखि सात सय रुपियाँसम्म कमाउने गरेका छन् ।
हातेमालो सामुदायिक वनका सदस्य लक्ष्मि दोङ् भन्नुहुन्छ, “वनका महिला सदस्यले वनमा पाइने सालको पात सङ्कलन गरेर बाँसको सिन्काले खुटेर तयार पारिएको लाफा (बिट नउठाइएको प्लेटको आकारको पात) उत्पादकलाई बिक्री गर्नुहुन्छ । उत्पादकले ती पातलाई मेसिनमा हालेर विभिन्न आकारका दुनो टपरी बनाई आकार अनुसार नै प्रति बस्तु डेढ रुपियाँदखि चार रुपियाँसम्म स्थानीय तथा छिमेकी जिल्लाका बजारमा बिक्री गर्ने गर्छन् ।”
यता जन एकता सामुदायिक वनका उपाध्यक्ष हेमबहादुर रानामगर ले मेसिनमा एउटा टपरी बनाउन बढीमा एक मिनेट लाग्ने जानकारी दिनुहुँदै मेसिनमा बनेका दुनो टपरी हातले बुनेका भन्दा आकर्षक र बलियो हुने भएकोले बजारमा पाइने प्लाष्टिक र कागजजन्य टपरीजस्ता वस्तुलाई सहजै प्रतिस्थापन गर्न सकिने बताउनुभयो ।
ती सामुदायिक वनमा सालका रुख प्रसस्त भएको कारण पातको कमी नहुने र सहजै उपलब्ध हुने भएकोले वनका महिला सदस्यले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् र आय आर्जनमा वृद्धि गरेका छन् । मेसिनको सङ्ख्या कम भएकाले बजार माग बमोजिम उत्पादन र आपूर्ति गर्न नसकिएको हातेमालो सामुदायिक वनका सहसचिव शालिकराम न्यौपानेले बताउनुभयो । स्थानीय तहले दुनो टपरी उत्पादनलाई विशेष महत्त्व दिई वातावरण मैत्री र प्लास्टिक मुक्त नगर बनाउन त्यसको विकास र विस्तारमा सहयोग पुर्याउनु जरुरी रहेको उहाँको अवधारणा छ ।