जाडो पनि निकै बढेको थियो । हिटरले उसको ओछ्यान राम्ररी तताएको त थियो तर उसको मनमा पुराना स्मृतिले निकै नै चिसो अनुभूति गराइरहेको थियो । रात धेरै छिप्पिइसकेको थियो । वसन्त ओछ्यानमा सुते पनि निदाउनचाहिँ सकेको थिएन । धेरै वर्षअघिको कुरा उसको मनमा खेलिरहेको थियो । नखेलोस् पनि किन ? त्यो कुराले उसको जीवनमा अझै पनि बारम्बार पिरोल्ने गथ्र्यो ।
वास्तवमा एउटा सानो एकचोटिको गल्तीको असरले धेरै वर्ष बिते पनि उसलाई पिरोलिरहेको थियो । केशरीसँगको सम्बन्धका कारण ऊ पिल्सने गथ्र्याे । त्यो गल्तीले नै उसलाई जीवनमा बारम्बार रुवाउने, सताउने र आत्मग्लानि हुन्थ्यो ।
वसन्तले केशरीलाई चिनेको केही दिनपछिको कुरा हो, उनीहरूबिच आँखा हेराहेर भएको थियो । आँखैबाट मायाका भाव साटासाट हुन्थ्यो । यसरी नै उनीहरूमा प्रेमाङ्कुर हुन थाल्यो । वसन्तले भन्दा पनि बढी केशरीले उसलाई मन पराउन थाली । वसन्तको कल्पनामा रातदिन बिताउन थाली । वसन्तको माया यसरी झाँगियो कि उसले पत्तो नै पाउन सकिन । ऊ काली थिई । काली भए पनि सुन्दर र हिसी परेकी थिई । आफूभन्दा ठुलालाई आदर र सम्मान गर्थी । त्यसले गर्दा नै वसन्तको मन जितेकी थिई ।
एक दिन कलेज छुट्टी भएपछि उनीहरू आआफ्ना साथीसँग घर फर्कंदै थिए । अलि पर पुगेपछि बस बिसौनी आयो । बस बिसौनीमा बस चढ्नका लागि दुवै बस कुर्न थाले । त्यही बखत केशरीले वसन्तलाई कसरी हेरिरहेकी थिई भने त्यसको वर्णन शब्दले गर्न सकिँदैनथ्यो । त्यो आँखामा यति मादकता थियो, खै कसरी भन्ने, भन्नै सकिँदैनथ्यो । प्रेममा डुबेपछि प्रेमको मादक यस्तै हुन्छ झैँ लाग्थ्यो ।
वसन्तले केशरीलाई नदेखेको पनि धेरै वर्ष बितिसक्यो । वसन्त अहिले सहरमा डुल्दाडुल्दै थकाइ लागेर सहरको धेरै जमघट हुने स्थानमा थकाइ मारेर बसिरहेको थियो । शनिबारको दिन थियो, त्यहाँ अरू दिनभन्दा बढी भिडभाड थियो । त्यहाँ ठुलो चोक थियो, जसको वरिपरि मन्दिरैमन्दिरले घेरिएको थियो । केही जोडी एकआपसमा अँगालो हालेर हिँडिरहेका थिए । कोही एकआपसमा हात समाएर यौवनले मस्त भएका आँखा जुधाउँदै, मुस्कुराउँदै हिँडिरहेका थिए । वसन्त चाहिँ केशरीलाई सम्झिएर आफैँमा हराउँदै गयो ।
केही बेरपछि फेरि त्यहीँको दृश्यतिर वसन्तको आँखा पर्न गयो । त्यहाँ आएका अधिकांश प्रेमिल जोडीहरू त्यहीँ रहेको एउटा सुन्दर मन्दिरको अगाडि विभिन्न पोजमा फोटो खिच्दै रमाउँथे । कोही टिकटक बनाउँदै रमाउँथे । आआफ्ना वेशभूषामा सजिएर आएका युवतीहरू सामूहिक फोटो खिच्दै रमाउँथे । विदेशी पर्यटकको जमघट पनि त्यहाँ प्रशस्तै देखिन्थ्यो । उनीहरू पनि आआफ्नै पारामा प्रेमालाप गरिरहेको दृश्य आँखाको भाकाबाट बुझ्न सकिन्थ्यो । कतिपय नेपाली पथप्रदर्शकले उनीहरूलाई त्यहाँको इतिहासबारे भन्दै गरेको पनि सुनिन्थ्यो । यसरी ऐतिहासिक कुराको जानकारी पाएर पनि पर्यटकहरू यो ठाउँको सौन्दर्यबाट पुलकित भइरहेका थिए । वसन्त पनि पुराना स्मृतिसाथ सोच्दै थियो– केशरी आफ्नो जीवनसाथी भइदिएको भए म पनि यसरी नै रमाउँथे होला ? अहिलेको यो निरस जिन्दगी सम्झँदै आफ्नो पूर्वजन्मको पापले नै केशरीसँग मिलन हुन नसकेको सम्झिन्थ्यो ऊ । वसन्त धेरै बेर त्यहाँको परिवेशमा रमायो । अनि समय घर्किसकेकाले त्यहाँबाट उठेर आफ्नो बाटो लाग्यो ।
वसन्त केशरीलाई कति धेरै सम्झन्थ्यो भने नसम्झेको समय नै हुन्थेन होला । राति सुत्ने बेलामा पनि सम्झने, राति बिउँझिँदा पनि सम्झने र बिहान उठ्ने बेलामा पनि सम्झने । उता केशरीले पनि उसलाई सम्झन्छे, सम्झिन्न उसलाई थाहा थिएन । अन्तै विवाह गरेर गएकी केशरी ऊ बसेको ठाउँभन्दा निकै टाढा थिई । कहिलेकाहीँ वसन्तलाई त्यतातिर गएर उसलाई हेर्न मन नलागेको पनि होइन । ऊ त्यसो गर्न पनि सकिरहेको थिएन । वसन्तले केशरी बसेको ठाउँतिरका मानिस आएका बखत उनीहरूसँग उसको बारेमा चासो पनि राख्ने गथ्र्यो ।
ती मानिसबाट केशरीले साह्रै दुःख पाएको कुरा थाहा पाएर उसको मन भारी भएर आउँथ्यो । केशरी धनी परिवारकी बुहारी थिइन् । धनी भएर के गर्नु र, केशरीका श्रीमान् कुलतमा फसेका थिए । कुलतले धन सखाप हुन बेर लाग्दैनथ्यो । यहाँ पनि त्यस्तै भएको थियो । उनका श्रीमान्ले नखाने कुरा कुनै थिएन । जाँड, रक्सी के के हो के के । उनी केटीका मामलामा पनि ठिक थिएनन् । केशरीले पिटाइ पनि खानु पथ्र्यो । केशरीका छोराछोरीकै लागि मात्र ऊ बाँचेकी थिई नत्र ऊ यतिबेलासम्म बाँचिरहने थिइन । यो कुरा थाहा पाएपछि फेरि ऊ केशरीलाई सम्झँदै मन बोझिलो बनाउँथ्यो । वसन्त पुराना कुरा सम्झँदै जाँदा कहिलेकाहीँ सुखद कल्पनामा पनि आफैँमा हराउँथ्यो । त्यसबाट उसले आफूलाई आनन्द भएको पनि पाउँथ्यो । जिन्दगी यस्तै रहेछ । केशरीले दुःख पाई । केशरीलाई मैले नै धोका दिएँ । त्यसैले त मैले पनि के सुख पाएँ र भन्दै कल्पन्थ्यो ।
केशरी साथ भएकी भए माया नै माया ओछ्याउँथी होली । उत्साह बढाउन हरप्रयास गर्थी होली । हजुर भनी भनी सम्मानको गजुर पहि¥याउँथी होली । उसका बाहुपासले अँगालोमा बाँधी माया नै मायाले कस्ती होली । यो जीवन स्वर्गीय बनाउँथी होली । हरपल आँखावरिपरि आई मेरो दिल बहलाउँथी होली ।
यस्तै विचारमा नै ऊ पिल्सिएर बसेको थियो । वसन्तले केशरीलाई कसरी धोका दियो त, त्यस्तो माया गर्ने मानिसले पनि धोका दियो होला त ? यो त वसन्तबाहेक कसैलाई पनि थाहा थिएन । जीवनमा यस्ता पलहरूबाट पनि मानिस पिल्सिएर बाँच्दो रहेछ– कल्पी कल्पी । अन्तरहृदयमा चोटका, पश्चात्तापका र ग्लानिका कहिल्यै निको नहुने घाउहरू बोकी ।
माघ महिना थियो । बिस्तारै दिन घमाइलो र लम्बिँदै थियो । जाईको फूलको बोटमा हाँगा हाँगाबाट फूलका पहेँला कोपिला टुसाउन थालेका थिए । केही दिनमा बोट नै फूलले पहेँलो भयो । वसन्तको मनमा वेदनाका जरा झन् झन् फैलिँदै गइरहेको थियो । मनमा कुनै पनि उत्साह र रसिलोपन आएन । तैपनि मानिस बाँच्दो त रहेछ दुःखैदुःख बोकेर पनि ।
वसन्तलाई बारम्बार नरमाइलो भएर आउँथ्यो । आज उसमा बेचैनी बढेको थियो । ऊ आफ्नो मोबाइलमा फेसबुक खोलेर हेरिरहेको थियो । जोडाजोडीको फोटोमा पनि ऊ आफू र केशरी देख्दथ्यो । गानाहरूको नाचमा पनि ऊ केशरी नै देख्दथ्यो ।
वसन्त फेसबुक हेर्दै आफ्नो कोठमा बसिरहेको थियो । फेसबुक हर्दै जाँदा उसले केशरीको फोटो देख्यो । केशरीको फोटो राखेर उनका साथीहरूले समवेदना सन्देश राखेका थिए । वसन्त छाँगाबाट खसे जस्तो भयो । ऊ केही बोल्नै सकेन । मनमस्तिष्कमा ज्वारभाटा मडारिएर आयो । छाती ढुङ्गाले थिचे जसरी गरुङ्गो भएर आयो । उसलाई चक्कर लाग्न थाल्यो । आँखाबाट बर्र आँसु झारेर ‘केशरी !’ भन्दै ऊ त्यहीँ ढल्यो । मुटुको स्पन्दन जोडले धड्कन थाल्यो । ऊ थरथर काम्न थाल्यो । ऊ इन्तु न चिन्तु भयो । उसको कोठामा कोही पनि थिएनन् । ऊ त्यहीँ ढलिरह्यो । सायद भोलि उसका लागि होला या नहोला ? भोलिको सूर्यको किरणलाई उसले स्पर्श गरी अनुभव गर्न पाउला नपाउला ? यो कसैलाई पनि थाहा भएन ।