नेपाली साहित्यमा जासुसी उपन्यासका ती प्रारम्भिक दिनहरू थिए, त्यही प्रारम्भिक दिनमा जासुसी उपन्यासको गोरेटोमा हिँडेका दुई जना स्रष्टाले जासुसी उपन्यासको सम्भावनाको बाटो देखे, उनीहरू थिए, दीर्घबाहु अर्थात् श्रीधर खनाल र सुलसुले अर्थात् शरद निरोला । यी दुवैका अघिल्लो पुस्तामा थिए– बोधविव्रmम अधिकारी तर यी दुई युवा अघि सरेको समयमा आइपुग्दा अधिकारीले जासुसी उपन्यास लेखनको बाटो छोडिसकेका थिए । अधिकारीका जासुसी उपन्यास आतङ्क, रत्नमन्दिर, राक्षसराज प्रकाशित छन् । जसरी नेपाली जासुसी उपन्यास लेखनमा पहिलो पुस्ताका अधिकारीले बिचैमा बाटो मोडे त्यसपछिको मूलबाटो तय गरेका दीर्घबाहु र शरद निरोलाले पनि यसलाई निरन्तरता दिएनन् ।
यी दुवै लेखकको मिलन स्थल त्यस बेलाको चर्चित अखबार ‘नयाँ सन्देश’ साप्ताहिक थियो । खनाल नयाँ सन्देशमा विश्वामित्रका नाममा नियमित लेख्थे । सम्पादन कक्षका निरोला र दीर्घबाहुको भेट त्यहीँ भएको थियो । जासुसी उपन्यास लेखनमा यी दुवै लेखकले सल्लाह गरेर नै केही वर्ष कलम चलाए । सल्लाह नै नगरे पनि उनीहरू दुवैले २०३० को आसपासदेखि जासुसी उपन्यास लेख्न छोडेका थिए । दीर्घबाहुको ४० वर्षपहिले लेखिएको ‘वज्रजोगिनीको खजाना’ २०७५ मा प्रकाशित भयो ।
त्यसरी एकाएक जासुसी उपन्यास लेख्न छोड्नुको कारण के थियो ? निरोलाका अनुसार उनीहरूका उपन्यासले पाठकमा राम्रो प्रभाव र बजार पनि ओगट्न थालेपछि जासुसी उपन्यासका नाममा केही नक्कली र सस्ता प्रकाशन आए । तिनको मारमा राम्रा लेखक र प्रकाशकहरू परे । राम्रा प्रकाशकहरू त्यस ‘भेलबाढी’ मा लगानी गर्न डराए । त्यसैको परिणाम केही उदीयमान लेखक र निरोलाले तत्काल प्रकाशक पाउन सकेनन् । निरोलाका अनुसार २०३०–०३१ सालतिर एक÷दुई जना नयाँ लेखकका राम्रा जासुसी उपन्यास प्रकाशित भएका थिए ।
लेखन यात्रामा यी दुई लेखकको बिछोड निरोलाको पाताल प्रदेशले गराएको थियो । अध्ययनका लागि २०५० मा अमेरिका पुगेका निरोला पारिवारिक भेटघाटका लागिबाहेक नेपाल फर्किनुभएन । खनाल अमेरिका जानुभएन । खनाल अर्थात् दीर्घबाहुको ९४ वर्षको उमेरमा माघ ३ गते निधन भयो । निरोलाको पहिलो जासुसी उपन्यास ‘सुलसुले पस्दा’ २०२६ सालमा प्रकाशित भएको थियो । उहाँका पुच्छ«ेतारा र ब्ल्याक सेप्टेम्बर, विदेशी गुप्तचर तथा नर्कदूत, कोलकाता कलिङ्ग, खतरनाक ताम्रपत्रलगायत सात वटा जासुसी उपन्यास २०३० भन्दापहिले नै प्रकाशित भएका थिए । करिब चार दशक साहित्यिक लेखनमा ओझेल परेका निरोलाको २०७० मा ‘लजाएका परेलीहरू’ कविता र गत वर्ष ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ निबन्धसङ्ग्रह प्रकाशित भएको थियो ।
औपन्यासिक ‘फ्लेबर’ पनि दिने निरोलाको यो निबन्धसङ्ग्रह अमेरिकाको पूर्वी समुद्री तट फ्लोरिडादेखि पश्चिमको वासिङ्टन राज्यको सियाटलसम्म विभिन्न समयको यात्रा संस्मरण हो । यस कृतिमा लेखकले आफ्नो यात्राको बयान मात्र गरेका छैनन्, यात्रामा आफूले प्राप्त गरेका अनुभव र सूचना पाठकलाई उपलब्ध गराएका छन् । जासुसी उपन्यास लेखनबाट कविता र यात्रा संस्मरणमा देखा परेका निरोला साहित्यिक गुप्तवासको लामो समयपछि साहित्यिक मार्गमा सव्रिmयता बढाउँदै हुनुहुन्छ । परिवारका सदस्यबाट प्राप्त जानकारी अनुसार उहाँका अप्रकाशित केही जासुसी उपन्यासका पाण्डुलिपि छन् तर निरोला यसलाई अस्वीकार स्वीकार केही गर्नुहुन्न । उहाँलाई लाग्छ, जासुसी उपन्यास अब ‘फेज आउट’ भए । निरोलाका अनुसार कतै हराएको आफ्नो एउटा जासुसी उपन्यास र एउटा सामाजिक उपन्यासको पाण्डुलिपि खोज्दै हुनुहुन्छ, निरोला । उक्त सामाजिक उपन्यासको पाण्डुलिपि उहाँले कथाकार परशु प्रधानलाई पनि पढ्न दिनुभएको थियो ।
झापाको शान्तिनगरमा २००५ मा जन्मनुभएका निरोलाले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए गर्नुभएको छ । उहाँले युनिभर्सिटी अफ एव्रmोन अमेरिकाबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । निरोलाले नयाँ सन्देश, मातृभूमि साप्ताहिक तथा उर्वशीको सम्पादन र दी मदरल्यान्ड दैनिक, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, दी राइजिङ नेपाल, पोलिटिकल स्पेसलिस्ट आदि सञ्चार माध्यममा विभिन्न समयमा सञ्चारकर्मीका रूपमा काम गर्नुभएको थियो । शङ्रदेव क्याम्पसमा २०३५ देखि ०५० सम्म प्राध्यापन गर्नुभएका निरोलाले नेपालस्थित अमेरिकी राजदूतावासमा पनि राजनीतिक अधिकृतका रूपमा केही समय काम गर्नुभएको थियो ।
निरोला साहित्यिक प्रेरणाको श्रेय साहित्यकार तारानाथ शर्मालाई दिनुहुन्छ । निरोलाको कविता कृति ‘लजाएका परेलीहरू’ मा शर्माको हस्ताक्षर रहेको सात पेज लामो भूमिका छ । शर्माले नै निरोलाको पहिलो जासुसी उपन्यासको नाम जुराइदिएका हुन् । निरोलाले उपन्यासको नाम ‘जासुस’ र लेखकको नाम सुलसुले राखेर शर्मासँग सल्लाह माग्न देखाउँदा शर्माले झर्रो नेपाली भाषालाई प्रवर्धन गर्नु पर्छ भनेर कृतिको नाम ‘सुलसुले पस्दा’ राख्न सुझाव दिनुभएको थियो ।
निरोलाको कवितासङ्ग्रहमा शर्माले लेख्नुभएको छ, “काठमाडौँबाट निस्कने नयाँ सन्देश साप्ताहिक पत्रिकामा हिरण्यकशिपु भएर निक्कै रमाइला हास्यव्यङ्ग्यात्मक टिप्पणीहरू लेखी पाठकको मन तान्न सफल शरद निरोला अति नै सरस, सरल र चित्ताकर्षक भाषामा जासुसी उपन्यासहरू लेख्तालेख्तै एक्कासि मातृभूमिलाई चटक्क छाडेर पातालतिर भासिइ हाम्रो साहित्यबाट बिलाउँदा हामीलाई नियास्रो लागेको थियो । हुन पनि नेपालमा छँदा निकै नै कथाहरू विभिन्न पत्रपत्रिकामा र हिरण्यकशिपु भएर छ÷सात वर्ष रोचक हास्यव्यङ्ग्यात्मक गद्यरचनाले ‘नयाँ सन्देश’ सिँगार्ने तथा अति जनप्रिय जासुसी उपन्यास निकालेर आफ्नो स्थान उच्च बनाइसकेका सफल स्रष्टा यतिका वर्षपछि ‘लजाएका परेलीहरू’ मा पठनीय र स्मरणीय गद्यकविताहरू लिएर प्रकट हुँदा हामी औधी आशान्वित भएका छौँ ।
निरोलाका उपन्यासहरू नायक मेजर अर्थात् आर्मी इन्टेलिजेन्ससँग सम्बन्धित हुन्थे । त्यसमा इन्टेलिजेन्स नेटवर्क र आधुनिक अस्त्रशस्त्रको प्रयोग गरिन्थ्यो । जासुसी उपन्यासका विषयमा अन्तर्राष्ट्रिय षडयन्त्र, रहस्य, रोमाञ्च, द्वन्द्व र यौन आदि हुन्थे । जासुसी उपन्यास नै लेख्नुको उद्देश्य के थियो त ? हाइस्कुल पढ्दापढ्दै निरोलाले पचासौँ हिन्दी जासुसी उपन्यास पढिसकेका थिए । नेपाली जासुसी उपन्यास सुरुका दिनमा उनले पढ्न पाएनन् । हिन्दी जासुसी उपन्यास पढ्दा उनलाई लाग्थ्यो यस्तो त म पनि लेख्न सक्छु । जब उनी उच्च शिक्षाका लागि काठमाडौँ आए, तारानाथ शर्मासँग भेटघाट हुन थाल्यो । उनैले लेख्न प्रोत्साहित मात्र गरेनन् छदम नामबाट नलेख्न पनि सल्लाह थिए । त्यसैको परिणाम उनी फुटकर लेखहरूमा हिरण्यकशिपु भए पनि कृतिगत लेखकमा आफ्नो वास्तविक नाममा अगाडि बढे । सामाजिक विषयमा कुनै कृति लेख्ने रहर मनमा साँचेका शरद निरोला कवितामा पनि सन्तुष्ट छैनन् । युवा अवस्थामा काठमाडौँमा हातमुख जोर्न, सार्वजनिक परिचय स्थापित गर्न र सामाजिक अपराधको अध्ययन अनुसन्धानमा सहयोग पु¥याउन जासुसी उपन्यासमा कलम चलाएका निरोला उमेर र समयले प्राथमिकता बदलिने बताउँछन् ।
साहित्य सिर्जनामा अपेक्षित सव्रिmयता नदेखिएता पनि निरोला पारिवार साहित्यिक उन्नयनमा अग्रसर छ । फुटकर निबन्ध र कविता लेख्दै आएकी निरोलाकी श्रीमती मञ्जु हाडा निरोलाका पनि यथार्थतामा अमेरिका ( भाग १ र २) र प्रवासका सुस्केरा कवितासङ्ग्रह प्रकाशित छन् । उहाँहरूले अमाबुवाका नाममा साहित्यिक गुठी र पुरस्कार स्थापना गर्नुभएको छ । अध्ययनको व्यस्तता, रोजगारी तथा आर्जनका अवसर र त्यसमा गर्नुपर्ने मेहनतले जासुसी उपन्यासबाट व्रmमशः टाढिएका निरोला सूचना प्रविधिका माध्यमको विकासले जासुसी उपन्यास लेखन पछाडि परेको ठान्नुहुन्छ । झर्रो नेपाली जनबोलीमा सरल शैलीमा लेखेर पाठकलाई आकर्षित गर्न सफल यी लेखक यसरी गुप्तवासमा बस्नु नेपाली साहित्यका पाठक ठगिनु हो ।