गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ९ गते । ‘नो केबलकार’ अभियानकर्ताहरुले आफूहरुले पर्यावरण र आदिबासीको पहिचान जोगाउन माग राख्दा आफूहरुमाथि कुटपिट भएको गुनासो गर्नुभएको छ ।
शुक्रबार यहाँ पत्रकार सम्मेलन गर्दै पहिचानवादी नेता तथा प्रतिनिधिहरुले आफूहरु संयमित रुपमा सांस्कृतिक पहिचान संरक्षण गर्ने अभियानमा रहेको बताउनुभयो । शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु दुःखद भएको भन्दै उहाँहरुले वार्ताको माध्यमबाट समयमै समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
‘सांस्कृतिक पहिचान जोगाइदेऊ मात्र भनेका छौं, हाम्रो अरु केही स्वार्थ छैन’, पहिचानवादी नेताहरुले भन्नुभयो, “हाम्रो मागको सुनुवाई सरकारले सुनेन, त्यही भएर संघर्षको कार्यक्रम अघि बढेको हो, सरकारले समयमै निकास खोजोस् ।’
पत्रकार सम्मेलनमा अलङ्कार कुलुङले सुरक्षाकर्मीले पहिचान माग्नेहरुमाथि अनावश्यक बल प्रयोग गरेको र पत्रकारलाई समेत निसाना बनाएको गुनासो गर्नुभयो । समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट हुनु दुःखद भएको भन्दै उहाँले पत्रकारलाई अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
पहिचानवादी नेताहरुले समाचार सम्प्रेषणका क्रममा पत्रकार अनुप योङहाङ लिम्बु र क्यामेरा पर्सन रेगन राईलाई प्रहरीले कुटपिट गरेको भन्दै आपत्ति जनाएका छन् । पत्रकारका क्यामेरा समेत खोसेर लगेको उहाँहरुको आरोप छ ।
अर्का पहिचानवादी नेता यासेली योङहाङले पत्रकार र संघर्षरत पक्षमाथि गरिएको सुरक्षाकर्मीको बल प्रयोगले पञ्चायतकालीन घटनाको स्मरण गराएको बताउनुभयो । पहिचानवादीहरु शालीन भएर पहिचान मागेको उहाँको भनाइ छ ।
अधिवक्ता विनोदमणि भट्टराईले मुकुम्लुङ क्षेत्रको पहिचान जोगाउन त्यहाँको स्थानीयहरु लागे पनि व्यापारीक समूहले पहिचान खोस्ने प्रयास गरेको आरोप लगाउनुभयो । समाचार संकलन गर्न गएका पत्रकारमाथि समेत कुटपिट गर्नु झन दुःखद भएको उहाँको भनाइ छ ।
सो कार्यक्रममा कुश्लब केसी, नेत्र परियार, लवन न्यौपाने लगायतले पहिचानवादी पक्षसँग सरकारले संवेदनशील भएर वार्ता गरी समस्या समाधान गर्न सुझाव दिनुभयो ।