• १० फागुन २०८१, शनिबार

रिंकु सदा हत्या प्रकरण : छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक

blog

रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागीहरू । तस्बिर : न्यूज एजेन्सी नेपाल

जनकपुरधाम, फागुन ९ गते । मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सिरहाका रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ ।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त विवरण सार्वजनिक गर्नुभएको हो । मन्त्री लेखीले सार्वजनिक गर्नुभएको विवरणअनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ ।

यसअघि स्थानीय युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो । हाल परिवारले थप व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग गर्दै पूरक जाहेरी दर्ता गराएको छ । 

प्रहरीका अनुसार जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया जारी छ । रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।