प्राकृतिक सम्पदा मानिसका निम्ति वरदान हुन् । मानिसले पर्याचक्रलाई जोगाउँदै प्राकृतिक सम्पदाको सदुपयोग गर्दा पृथ्वी आफैँमा स्वर्ग हो । अवास्तविक स्वर्ग केवल कल्पना र साहित्य मात्र हो । कसैले देखेको छैन । जिउँदै स्वर्ग देखिन्न, मरेर गएपछि स्वर्गका बखान गर्न कोही आजसम्म फर्केर आएको देखिएको छैन । त्यो अवास्तविक स्वर्गभन्दा, पर्याचक्र जोगाउँदै मानिसले गर्ने आर्थिक तथा सामाजिक विकास यथार्थको स्वर्ग हो । मानिसले तमाम भौतिक सरसुविधा यही पृथ्वीबाट पाउँछ । खाने अनाज र पानी यही पृथ्वीमा मिल्छ । तथापि मानव जातिले आधुनिकता र विकासका नाममा प्राकृतिक सम्पदाको अति दोहन गरिरहेको छ । भूस्वर्गलाई कुरूप बनाउँदै छ । जैविक इन्धनको स्रोतको अति दोहनले विश्व तापमान डेढ सय वर्षयता निरन्तर बढ्दै गइरहेको छ । हिमालमै हिउँ पग्लिएर काला पहाड बन्न थालेका छन् । अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, डुबानदेखि अनेकौँ समस्या विश्वभरिका मानवका निम्ति अहिले कठोर भोगाइ बन्दै छ । विश्व तापमान बढाउने गरी नेपालले प्राकृतिक सम्पदाको दुरुपयोग गरेको छैन तर पनि कतिपय प्राकृतिक सम्पदाको अनावश्यक दोहन गरिरहेको छ । अति दोहन गरिरहेको प्राकृतिक सम्पदामा चुरे दोहन पहिलो स्थानमा आउँछ । विगत पाँच/छ दशकमा गरेको चुरे दोहनले त्यहाँको विनाश चरम बन्दै छ । अन्न भण्डारका रूपमा रहेको तराई मधेश मरुभूमीकरणको जोखिमतिर अग्रसर छ ।
चुरे दोहनको उदाहरणका रूपमा धनुषा जिल्लाको छिरपोखरी गाउँको इतिहासले देखाउँछ । यो गाउँ कुनै बेला हराभरा थियो । करिब एक सय घरधुरी थिए । कृषिमा आत्मनिर्भर थियो । पिउने पानीका लागि इनार र सिँचाइका लागि मूलको पानी प्रयोग गरिन्थ्यो । उब्जनी पनि राम्रो हुन्थ्यो र समुदायबिच गहिरो सामाजिक सम्बन्ध थियो तर अहिले छिरपोखरी गाउँ नै छैन । त्यहाँ अहिले केवल फराकिलो मरुभूमि मात्र छ । २०४४ साउनको अन्तिममा जलाद नदीमा आएको विनाशकारी बाढीले यो गाउँ पूरै बगायो । मानिस विस्थापित भए । नजिकै गएर गाउँ बसाए । अहिले कतिपय मासिन त्यो मरुभूमि भइसकेको स्थान हेर्न जान्छन् । सो बगरमा अहिले पनि इनार देखिन्छ । देखिने इनार गाउँमा अन्तिम चिनारी बनिरहेका छन् । छिरपोखरीका बासिन्दा विस्थापित भएपछि करिब दुई किलोमिटर परको अग्लो जमिनमा गएर बसोबास गर्न थाले । अहिले त्यो ठाउँ छिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ६, सखुवा बजार नयाँ टोल भनेर चिनिन्छ । छिरपोखरी गाउँको इतिहास दुई सय वर्ष पुरानो थियो । अहिले बगर मात्र छ । छिरपोखरी त उदाहरण मात्र हो । चुरे र मधेशका धेरै गाउँबस्ती अहिले तीव्र जोखिममा छन् । विशेष गरी पूर्वपश्चिम राजमार्ग चुरेको अधिकांश भाग भएर बन्न थालेपछि दोहनको नयाँ आयाम थालियो । राजमार्ग वरपर बस्ती तीव्र भयो । कमजोर भूधरातलको चुरेको वन नासियो । भूस्खलन र खोला तथा नदीको चौडाइ बढ्दै गयो ।
बस्ती र सहरीकरणले विनाश हुँदै गएको चुरे क्षेत्र यताका दुई दशकमा नयाँ ढङ्गले दोहन चरम भएको छ । गिट्टी, ढुङ्गा, बालुवाको उत्खनन व्यापक हुन थालेको छ । अनुमति लिएर वा नलिएर चुरेका खोलानालामा अनेक खानी उद्योग बग्रेल्ती देख्न सकिन्छ । अनुमति सानो अंशमा लिए पनि त्यसले व्यापक उत्खनन गरिरहेका छन् । ती खानीबाट प्राप्त उत्पादन निर्यात हुने गरेका छन् तर नियमित राजस्व तिरेर निर्यात हुँदैनन् । अवैध तवरले खानी उत्खनन गरी निर्यात गरिने प्रवृत्तिले व्यापकता पाएको छ । यो दुई दशकमा छिमेकी मुलुकको विहारमा व्यापक पूर्वाधार निर्माण भयो, हुँदै छ । त्यसका निम्ति नेपालको चुरे दोहनबाट ढुङ्गा, गिट्टी र बालुवा सहयोगी बनेका छन् । चुरेको अति दोहन आपराधिक कर्म हो र यसमा राज्यले ठोस नीतिनियम बनाएर नियमन गर्न सकेको देखिँदैन । कुनै बेलाको नेपालको पूर्वपश्चिम फैलिएको चारकोसे झाडी अहिले एकादेशको कथा भएको छ । मासेर नै सकियो । चुरे दोहन र चारकोसे झाडी मासिएपछि अन्नभण्डार तराई मधेशमा प्राकृतिक जैविक मल पुग्ने पर्याचक्रीय निरन्तरतामा अवरोध भयो । पूर्वपश्चिम राजमार्ग हुलाकी राजमार्ग हुँदै बनेको भए सायद यो दुर्भाग्य हुने थिएन कि ? चुरेको थप मरुभूमीकरण रोक्न सबै प्रयास वाञ्छनीय बनेको छ । चुरे संरक्षणमा तीन तहकै सरकार गम्भीर नभएर अझ बढी मरुभूमीकरणको जोखिम कसैले रोक्न सक्दैन ।