• १० फागुन २०८१, शनिबार

प्राज्ञिक संस्थामै प्राज्ञिकता अभाव

blog

नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिवि दलीय भागबन्डाको सिकार भएर कठिन अवस्थामा पुगेका कुराले बौद्धिक व्यक्तिका मनमा गम्भीर चिन्ता र चासो पैदा भएको छ । हुन त मुलुक चलाउने राजनीतिक दलहरूले नै हो तर विश्वविद्यालय जस्ता प्राज्ञिक संस्थालाई सबै मिलेर स्वच्छ रूपमा राख्न सर्वदलीय निर्णय गर्नुपर्ने हो । त्यसो हुन नसकेर नेपालका यो वा त्यो प्रायः सबै राजनीतिक दलको यो रणमैदान बन्यो भने त्यहाँबाट कस्तो प्राज्ञिकताको आशा राख्ने ? विश्वविद्यालयमा विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठनहरूको दबदबा दिनप्रतिदिन बढिरहेको छ । आफ्ना निहित स्वार्थका लागि विश्वविद्यालयका पदाधिकारीका कार्यालयमा तालाबन्दी, धर्ना, तोडफोड, आगजनी आदिका घटनाले विश्वविद्यालय थिलथिलो भएको छ ।

विश्वविद्यालयमा कतिपय राजनीतिक दलका भ्रातृ सङ्गठनका लाउकेहरूले कमाउधन्दा नै चलाएका छन्, चन्दा आतङ्क त्यहाँ दिनहुँ मौलाउँदै गएको छ । उपकुलपति, रेक्टर, रजिस्ट्रार मात्र होइन; डिन, विभागीय प्रमुख, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको नियुक्ति दलीय भागबन्डामा हुने हुनाले कतिपयबाट चर्को आलोचना पनि हुने गरेको छ । प्राज्ञिक थलोमा जब दलीय भागबन्डामा प्राज्ञिक व्यक्तित्वको उपेक्षा गरेर दलका अब्बल नभएर दोयम व्यक्तिहरू नियुक्त हुन्छन्; उनीहरूबाट मुलुकले कस्तो प्राज्ञिकताको अपेक्षा गर्ने ? राजनीतिक दलमा लाग्नेमध्ये पनि अब्बल रूपमा रहेका प्राज्ञिक व्यक्तित्वलाई विश्वविद्यालयको जिम्मेवारी दिएको भए पनि यतिबिघ्न आलोचना गर्नुपर्ने अवस्था आउने थिएन । जब प्राज्ञिक स्थल बिटुलिन्छ तब त्यहाँ प्राज्ञिकता कहिले नथिग्रिने गरी थला पर्छ ।

त्रिविमा पदाधिकारी नियुक्त हुँदा कार्यक्षमता, प्राज्ञिकता, मिसन र भिजन बुझेर अझ मेरिट लिस्टका आधारमा गरिएको भए यो विश्वविद्यालयले धेरै पहिले आफ्नो काँचुली फेर्ने थियो । निष्काम रूपमा विश्वविद्यालय समृद्ध बनाउने सोच भएको भए यसलाई उकास्न धेरै समय लाग्ने नै थिएन । सक्षम र प्राज्ञिक व्यक्ति बाहिर हुने अनि कुँडाकर्कटले घुम्ने मेचमा बसेर प्राज्ञिकताको बखान गर्न थालेपछि यो नउग्लिएर के उग्लिन्छ त ? विश्वविद्यालयले मुलुकको खाँचो परिपूर्ति गर्ने खालको शिक्षा दिएर जनशक्ति उत्पादन गर्न नसकेको हुनाले नै हाम्रो देश खाडीका लागि आज तल्लोस्तरका श्रमिक उत्पादन गर्ने यन्त्र बनेको छ । यसले नेपाली मात्रको नाक काटिएको महसुस हुँदै गएको छ । एउटा समय थियो, जुन बेला मुलुकमा प्रजातन्त्र थिएन । त्यस बेला यही विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले निरङ्कुश शासनको विरुद्धमा आफ्ना आवाज बुलन्द गर्थे । त्यसबेला हरेक क्याम्पसमा राजनीतिक दलका भ्रातृ सङ्गठनहरू कार्यरत थिए । उनीहरू कुशासनको विरोध गर्थे । त्यस कुराले गम्भीर अर्थ राख्थ्यो । आज त मुलुकको अवस्था फेरिएको छ, लोकतन्त्र र गणतन्त्रको उज्यालोमा मुलुक अग्रसर हुँदै छ । क्याम्पस तथा विश्वविद्यालय किन राजनीतिक दलहरूका ‘ग्रिप’ मा राख्नु ? विश्वविद्यालयलाई तिघ्रे र पाखुरेहरूको रणभूमि बनाउन छाडेर जुन दिन यहाँ विशुद्ध प्राज्ञिक व्यक्तिहरूको मस्तिष्कको व्यायाम हुन थाल्ने छ, त्यही दिनदेखि विश्वविद्यालय सुधारको बाटोमा लाग्ने छ । 

जुनसुकै क्याम्पसमा पढाउने प्राध्यापकहरूले राजनीतिक दलका झोला नबोक्ने हो भने हात धोएर बाहिरिनुपर्ने अवस्था छ । सङ्घ/सङ्गठन खोलेर बसेका प्राध्यापकहरूको काम नै अर्काको छुस्की लगाउने हुन्छ । कुनै पनि राजनीतिक दलमा नलागेका प्राध्यापक छन् भने आफ्ना पक्षका विद्यार्थी सङ्घ/सङ्गठनलाई उचालेर हुन्छ कि अन्य आरोप लगाइदिएर हुन्छ; त्यस्ता प्राध्यापकलाई भित्तैमा पु¥याएर हटाइछाड्ने उद्देश्य हुन्छ । केही समयअघि राजधानीको नाम चलेको एक क्याम्पसमा त्यस्तै एक करार सेवाका प्राध्यापकलाई त्यसै गरी राजीनामा गर्न बाध्य पारेको घटना आलै छ । त्यसैले राजनीतिक दलमा नलागेका त्रिभुवन विश्वविद्यालयमा काम गर्ने प्राध्यापकहरूलाई निकै अप्ठ्यारो अवस्था छ । बर्सौं पुरानो डायरीलाई टेपले टाँसेर विद्यार्थीलाई बर्सौंसम्म एउटै नोट लेखाउने, कहिल्यै पनि कुनै पुस्तक नपढेर आफूलाई अपडेट नगर्ने प्राध्यापक हाइ हाइ र मेहनती, अध्ययनशील, प्राध्यापक राजनीतिबाट निरपेक्ष हुँदा बाइ बाइ हुन्छ भने यस्तो रुग्ण अवस्थामा विश्वविद्यालयको उन्नयन कसरी होला त ?

मुलुकमा राजनीतिक दलहरूको वर्चस्व कायम हुन थालेपछि विश्वविद्यालयमा त सुधार आउनुपर्ने हो तर राजनीतिक दलको प्रत्यक्ष छाया विश्वविद्यालयमा परिदिँदा हबिगत दिनानुदिन बिग्रँदो छ । यसको प्रत्यक्ष उदाहरण प्रधानमन्त्री कुलपति रहेको विश्वविद्यालयको माथिल्लो निकाय त्रिभुवन विश्वविद्यालय सिनेट सभामा केही व्यक्तिले केही समयअघि देखाएको अमर्यादित क्रियाकलापले पनि यसको पुष्टि गर्छ । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि त विश्वविद्यालयको शैक्षिक वातावरणमा सुधार आउला, विश्वविद्यालय विशुद्ध प्राज्ञिक स्थल बन्ला भन्ने परिकल्पना त आज तुहिएर गएको छ । लोकतन्त्रको प्रादुर्भाव भएपछि त विश्वविद्यालयमा अझ बढी विकृतिका कसिङ्गर थुप्रिरहेको देखिन्छ ।

मोनेरादेखि मानवसम्मको विकासवादी सिद्धान्त बुझ्ने, मानव विकासका प्रारम्भदेखि आजसम्मका उतारचढावहरू विश्लेषण गर्न सक्ने, प्राग इतिहास, धर्म, संस्कृतिदेखि पछिल्लो अवस्थाको ज्ञानविज्ञानको विश्लेषण गर्न सक्ने जनशक्ति निर्माणको आधारशिला नै विश्वविद्यालय हो । मुलुकको अर्थव्यवस्थाको सुदृढीकरणमा होस् वा मानव विकास सूचकाङ्कमा; गहन योगदान गर्न सक्ने, समाज, राष्ट्र र विश्वलाई मार्गदर्शन गर्न सक्ने प्रवीण जनशक्तिको उत्पादन विश्वविद्यालयहरूले नै गरेका हुन्छन् तर अस्वस्थ वातावरणको प्रभावले गर्दा हाम्रा विश्वविद्यालयले भने यस दिशामा अपेक्षित काम गर्न सकेका छैनन् । 

त्रिभुवन विश्वविद्यालयका समस्याका जड भनेका नै यहाँका सङ्घ/सङ्गठन हुन् । यसमा सुधार गर्ने हो भने यहाँ कुटो र कोदालो होइन; युगौँदेखि ढलीमली गरेर आइरहेका विविध सङ्घ/सङ्गठनमाथि बुल्डोजर चलाउनु पर्छ । राजनीतिले जकडेर हायलकायल पारेको विश्वविद्यालयमा व्यापक रूपमा निर्मम सुधार गर्न सक्ने दरिलो मुटु्, धारिलो मस्तिष्क र छ्यान विवेक भएको प्राज्ञिक नेतृत्वले मात्र त्रिभुवन विश्वविद्यालयमा फेरबदल ल्याउन सक्छ । राजनीतिक दलहरूले पनि विश्वविद्यालयलाई आफ्ना कार्यकर्ता उत्पादन गर्ने कारखाना मात्र नसम्झेर मुलुकको सर्वाङ्गीण विकासमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने स्थल मानेर मन, वचन र कर्मले निर्मम भई सुधारका लागि अग्रसर हुन जोडबल दिने हो भने विश्वविद्यालयमा भौतिक साधन यथेष्ट हुनाले केही वर्षमै सुधार आउन सक्ने प्रचुर सम्भावना छ । शैक्षिक क्यालेन्डर निर्माण गरेर, त्यही अनुसार अध्ययन, अध्यापन, परीक्षा, नतिजा निश्चित समयमा निकाल्ने हो भने यसले काँचुली फेर्न लामो समय नलाग्न सक्छ । 

आज त विश्वविद्यालयका कैयौँ प्राध्यापक आफ्नो जागिर खाने त्रिविका आङ्गिक क्याम्पसमा झारा टार्ने हिसाबले प्राध्यापन गर्छन् अनि प्राइभेट कलेजहरूमा गएर घोटिन्छन् । ‘हायर’ र ‘फायर’ को पद्धतिलाई अँगालेर तत्काल यसमा सुधार नल्याउने हो भने जीर्ण बनेको हाम्रो जेठो विश्वविद्यालय कुनै पनि दिन ढल्ने निश्चितप्रायः छ । त्रिविले आफ्ना प्राध्यापकहरूलाई निजी क्याम्पसहरूमा काम गर्न प्रतिबन्ध लगाउने भनेर जति निर्णय गरे पनि फितलो प्रशासनले यो निर्णय शक्ति र पहुँच नभएका नगण्य प्राध्यापकहरूलाई मात्र लागेको छ । राजनीतिको छाया परेर विश्वविद्यालयका सिनास, रिकास्ट, सेडा, सेरिड जस्ता अनुसन्धान केन्द्रबाट अपेक्षित कुनै अनुसन्धानका काम हुन सकेका छैनन् । जुन उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयमा ती अनुसन्धान केन्द्रहरू स्थापना भएका हुन्; ती कुनैले पनि अभीष्ट पूरा गर्दैनन् ।

विश्वका विकसित मुलुकका विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूले राज्यका शिक्षा, स्वास्थ्य, अर्थ, राजनीति, भाषा, साहित्य, इतिहास, भूगोल, समाजशास्त्र, गणित, विज्ञान, मानवशास्त्रलगायत मुलुकका विविध उत्पादन, वितरण आदिबारे गहन अनुसन्धान गरेर मुलुकलाई नै सुन्दर बाटोमा डो¥याउने काम गर्छन् । पाश्चात्य मुलुकमा औद्योगिक क्रान्तिपछि त्यहाँका विश्वविद्यालयमा प्राध्यापकहरूद्वारा गरिएका अनुसन्धानले के कस्तो जनशक्ति कति मात्रामा चाहिन्छ भनी जनशक्ति निर्माण गरी देश विकासमा त्यस्तो जनशक्ति लगाएर अभूतपूर्व उपलब्धि हासिल भएको हो ।